बर्दिया—बर्दियामा गुडिरहेको विद्युतीय सवारी साधन (ईभी) मा अचानक आगलागी भएको छ। आगलागीबाट गाडी पूर्ण रूपमा जले पनि कुनै मानवीय क्षति भने भएको छैन।

आइतबार बिहान करिब ६:५० बजे बारबर्दिया नगरपालिका–७ रम्मापुरस्थित ५ नम्बर चोकनजिकै महेन्द्र राजमार्गमा उक्त घटना भएको हो। कोहलपुरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको सु.प.प्र ०१–००२ ज ४३३ नम्बरको ‘फोटोन’ ईभी (माइक्रोबस) मा एक्कासि आगो लागेको थियो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी (डीएसपी) रेशम बोहराका अनुसार गुडिरहेकै अवस्थामा गाडीमा आगो लागेको थियो। गाडीमा चालक र सहचालक मात्र रहेकाले ठूलो मानवीय क्षति हुन पाएन। उक्त गाडी कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए।

आगलागीबाट गाडीसहित सवारीका महत्त्वपूर्ण कागजात र नगद ४२ हजार रुपैयाँ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रहरी टोली र ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा बिहान ८ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागी नियन्त्रणमा आएसँगै महेन्द्र राजमार्गको सवारी आवागमनमा हाल कुनै अवरोध नरहेको डीएसपी बोहराले जानकारी दिए।