विराटनगर — भोटेकोशीको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकी विराटनगरकी २४ वर्षीया ऋचा निरौलाले लोकसेवा आयोगको लिखित परीक्षा उत्तीर्ण गरेकी छन्।
लोकसेवा आयोगले बिहीबार सार्वजनिक गरेको सब–इञ्जिनियर पदको लिखित परीक्षाको नतिजामा ऋचाको नाम क्रम संख्या १२ मा परेको छ। तर छोरीले लोकसेवा पास गरेको खबर परिवारसम्म पुग्दा पनि घरमा खुसी छाउन सकेको छैन। कारण, १० भदौदेखि बाढीपछि बेपत्ता भएकी ऋचाको अवस्था अझै अज्ञात छ।
विराटनगर महानगरपालिका–३ निवासी ऋचा अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिइन्। २१६ मेगावाट क्षमताको उक्त आयोजनामा उनले करिब ६ महिनाअघि मात्रै काम सुरु गरेकी थिइन्।
परिवारले बाढीपछि निरन्तर खोजी गरिरहेको भए पनि अहिलेसम्म उनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त भएको छैन। मोबाइल ट्र्याक गर्दा उनको अन्तिम लोकेसन उत्तरगया गाउँपालिका–१ स्थित तिरु आधारभूत विद्यालय आसपाससम्म देखिएको थियो। त्यसपछि मोबाइल बन्द भएको बताइएको छ।
लोकसेवामा नाम निकालेर नयाँ भविष्यको सपना बोकेकी ऋचा अहिले कहाँ छिन् भन्ने प्रश्नले परिवारको पीडा झन् गहिरिएको छ। छोरीको सफलताको खबरसँगै उनको सकुशल फर्किने समाचारको प्रतीक्षामा परिवार अझै बसेको छ।


