काठमाडौं । अहिले प्रतिनिधि सभामा गरिरहेको अवरोध नेपाली कांग्रेसलाई घाँडो भएको छ । सदन अवरोधबाट ‘व्याक’ हुन कांग्रेसभित्र छलफल सुरु भएको छ । स्रोत अनुसार पार्टी सभापति शेरबहादुर देउवा स्वयं नै अवरोधको पक्षमा थिएनन्, तर, संसदीय दलबाटै निर्णय गरेर हतारहतारमा अवरोधको निर्णय गरिएको थियो ।
‘सोमबार पार्टी केन्द्रीय समिति बैठक बस्दैछ, बैठकबाट बालुवाटार जग्गा प्रकरणबारे धारणा बनाइनेछ र सदन अवरोध खोल्ने बाटोमा कांग्रेस लाग्नेछ’– सभापति देउवा निकट एक नेताले बताए । उनका अनुसार सदन अवरोध अर्थहीन देखिएको निष्कर्षमा कांग्रेसका सबैजसो नेताहरु पुगिसकेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सभामुखले कांग्रेसलाई बोल्न नदिएपछि बैठक अवरुद्ध गर्नुको सान्दर्भिकता झनै सकिएको छ ।
‘यो अवरोध जति लम्ब्यायो उति हामीलाई क्षति छ भन्ने निष्कर्षमा सबैजसो नेता पुगिसक्नुभएको छ’– ती नेताले भने । सोमबार कांग्रेस केन्द्रीय समिति बैठक भएकाले सो दिन बैठक नराखिदिन कांग्रेस नेताहरुले सभामुख अग्निप्रसाद सापकोटासँग अनुरोध गरेका थिए । त्यसै अनुसार सभामुखले सोमबार बैठक नराखिदिएर मंगलबार मात्र राखिदिएका छन् ।सनराइज खवरबाट




















