भूमिप्रसाद पाठक
पथरी ,९ वैशाख । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १, मन्दिर लाइन, पथरी बजारनजिकै रहेको धिमाल महाराजस्थान ग्रामको संरक्षणमा रहेको मन्दिर परिसरभित्र गत ४ गते २/३ वटा पूर्णतः सुकेका रुख काटनसम्बन्धी नेकपाको वडा कमिटीले आज एउटा विज्ञप्ति सार्वजनिक गरेको छ ।
काटिएका रुखका सन्दर्भमा बिना कुनै तथ्य–सत्य उल्लेख नगरी पार्टीको स्थानीय नेता एवं वडा नं. १ वडा अध्यक्ष बाबुराम ऐङदेनमाथि लगाइएको लाञ्छना सम्पूर्ण रूपले निराधार भएको दर्शाउँदै यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘रुख कटान हुनुपर्छ भन्ने हाम्रो मान्यता होइन, आवश्यकताका आधारमा वृक्षरोपण समेत गर्नुपर्छ । विभिन्न राजनीतिक सन्दर्भमा हामीले योजनाबद्ध वनको व्यापक बिस्तार एवं वृक्षारोपण समेत गर्दै आएका छौं’ अध्यक्ष भीमकुमार राईं र सचिव युवराज चौलागाँईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
यहाँको स्थलगत वस्तुस्थितिको सचित्र अध्ययन होस् भन्ने अपेक्षा अघि सारिएको विज्ञप्तिमा धिमाल महाराजस्थान ग्राम आसपासका घर तथा मठमन्दिरका निम्ति खतरायुक्त रहेका ती रुखहरूको बारेमा जनप्रतिनिधिको उपस्थिति हुनुपहिल्यै यसबाट बच्न स्थानीय जनमतले वन कार्यालयसमक्ष पटकपकट गुहार लगाएको र यसक्रममा सार्वजनिक मुचुल्का समेत उठाएको विषयलाई समेत जोड दिइएको छ ।
विषयवस्तुलाई अतिरञ्जित बनाएर कोरोना भाइरसविरुद्धको लडाईं जित्ने साझा अभियानलाई डाइभर्ट नगर्न अनुरोध गर्दै नेकपा नेतृत्वको स्थानीय सरकारले केही गर्न सकेन भनेर यसवापत दुस्प्रचार गर्ने मनाशयका साथ यो विषयलाई उछालिएको पक्ष विज्ञप्तिमा उल्लेख छ ।
‘मानवीय अस्तित्व रक्षाको यो असाधारण र असामान्य बेलामा देशदुनियाँ उच्च सतर्कता अपनाउँदै अहोरात्र खटिरहेको छ । यस वडामा यो कार्यको नेतृत्व वडा अध्यक्षका हैसियतले उहाँले गर्नुभएको छ । यस्तो अवस्थामा उहाँलाई रुख कटानसँग जोडेर निरुत्साहित गर्ने मनाशय प्रकट भएको प्रस्ट बुझिन्छ ।’
भन्ने तर्क सहितको विज्ञप्ति जारी गर्दै नेकपाको स्थानीय कमिटीले सम्पूर्ण मानवजातिको सेवामुखी यो एउटा अपरिहार्य मिसनलाई प्रभावित हुन नदिई स्थानीय जनमत र जनचाहनाअनुसार सरकारको सम्बन्धित निकायले प्रस्तुत विषयको व्यवस्थापन गर्न माग गर्दै यस्ता विषयमा राजनीतिक प्रतिशोध नसाँध्नु सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।




















