काठमाडौं, ११ भदौं । नेपालमा केहि दिनयता बर्षाको मात्रा कम भए पनि मनसुन जारी नै रहेको छ । अहिले (बिहीबार बिहान) देशभर मौसम सामान्य बदली छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिमी भूभाग नजिक छ । यस्तै उत्तरी बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको पनि प्रभाव परिरहेको छ ।

जसका कारण नेपालमा बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो पनि देशका केही स्थानमा यस्तै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने बागमती, गण्डकी, प्रदेश–५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

यस्तै राति पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, प्रदेश–५, कर्णाली सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश–५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।