गौर, ११ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटमा प्रहरी हिरासतमा मृत्यु भएका दलित युवा विजय रामको हत्यारालाई कारवाही गर्न माग गरेका छन् ।

नेकपा प्रदेश–२ का अध्यक्ष समेत रहेका सांसद साहले सोधपुछको नाममा प्रहरीले यातना दिएर अभियुक्तको ज्यान लिएको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्न र कारवाही गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद साहले आर्थिक प्रलोभनमा परी प्रहरीले अपराधको सही अनुसन्धान नगर्ने र निर्दोषलाई यातना दिएर मार्ने प्रवृत्तिले झन अपराधलाई बढावा दिएको आरोप लगाएका छन् । उनले नेपाल प्रहरीले प्रहरीभित्र रहेका आपराधिक प्रवृतिलाई समयमैं नियन्त्रण गरी आम जनतालाई सुशासनको प्रत्याभूति दिलाउनु पर्ने माग राखेका छन् ।

‘गत साउन ३२ गते गरुडा नगरपालिका–८, जिंगडियाका दलित युवा निरन्जन राम (चमार) को धारिलो हतियारले घाँटी रेटी हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले सात जनालाई थुनामा राखेको थियो ।

‘पक्राउ परेकामध्येका एक विजय महरा (चमार) को हिजो राति मृत्यु भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ सांसद साहले लेखेका छन्, ‘हिरासतमा रहेका बेला निरन्तर चरम यातना दिएर एक दलित युवालाई मृत्युवरण गराउनु गम्भीर अपराध मात्र होइन, एउटा अमानवीय कार्य पनि हो । यो दण्डनीय अपराधमा संलग्न प्रहरीलाई तत्काल निलम्बन गरी आवश्यक कारवाही अगाडि बढाउन गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

गत श्रावण ३२ गते गरुडा नगरपालिका–८, जिंगडियाको निरन्जन रामको हत्या गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको थियो । जसमध्ये एक विजय रामलाई पक्राउ गरेकै दिनदेखि निरन्तर यातना दिंदा अस्वस्थ भएपछि बीरगञ्जस्थित नेशनल मेडिकल कलेज उपचारका लागि पठाइएको थियो । उपचाररत विजय रामको शरीरमा अत्यधिक चोट पटक लागेकाले मृगौला (किड्नी) मा समस्या आएर मृत्यु भएको थियो ।

‘रौतहटको समग्र शान्ति सुरक्षाको सम्बन्धमा मैलें माथिल्लो निकायलाई गम्भिर ध्यानाकर्षण गराउँदा गराउँदै पनि यस्तो दुःखद घटना हुनु दुर्भाग्य हो । आर्थिक प्रलोभनमा परी अपराधको सही अनुसन्धान नगर्ने र निर्दोषलाई यातना दिएर मार्ने प्रवृत्तिले झन अपराधलाई बढावा दिने पक्का छ’ उनी थप्छन्, ‘यसर्थ नेपाल प्रहरीले प्रहरीभित्र रहेका आपराधिक प्रवृतिलाई समयमै नियन्त्रण गरी आम जनतालाई सुशासनको प्रत्याभूति दिलाउन विशेष आग्रह समेत गर्दछु ।’नया पेजबाट