भूमिप्रसाद पाठक,
पथरी, भदौ २४ । मोरङको पथरी शनिश्चरे नगरभित्र गत १७ गते बालिका अपहरणको घटना घटेको छ । सम्पूर्ण परिवारलाई नै निर्ममतापूर्वक मारिदिने धम्की दिँदै दुई लाख नगदसहित बालिका अपहरण गरेको अभियोगमा तीनजनालाई पथरी प्रहरीले १८ गते नै नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएकामध्ये मोरङ पथरी शनिश्चरेका एकजना सहित तीन युवा रहेको प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीले जनाउनुभएको छ ।
उहाँका अनुसार पक्राउ पर्नेमा यस नगरपालिका वडा नं. ८ का २१ वर्षीय सुजन रणपहेली, पथरी शनिश्चरे वडा नं. ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नपाका ३६ वर्षीय पूर्णबहादुर तामाङ रहेका छन् । १४ वर्षकी बालिकालाई पथरीबाट दुईवटा एम्बुलेन्स परिवर्तन गरेर काठमाण्डौ लाँदै गर्दा काभ्रेपलाञ्चोकको साँगा भञ्ज्याङ्बाट नियन्त्रणमा लिइएको हो ।
घट्ना विवरणअनुसार गत सोमबार भदौ १६ गते पथरीबाट अपहरित बालिकाको आमाले माइक्रो फाइनन्सबाट २ लाख ऋण झिकेर घर लगेकी थिइन् । उक्त रकम छोरीलाई राख्न दिएका थिए । मंगलबार बिहान ४ बजे घरमा आएर त्यो दुई लाख रूपैयाँ बोकेर हिँड्नुपर्ने, नहिँडे आमालाई सहित मारिदिने धम्की दिएपछि बालिका रकम बोकेर हिँड्न बाध्य भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी ईञ्चार्ज गिरीले बताउनुभयो ।
मंगलबारेबाट पथरी बजार आएर को २ च २८८२ नम्बरको एम्बुलेन्स चढेर इटहरी पुगेका थिए । त्यहाँबाट को २ च ३१२१ नम्बरको अर्को एम्बुलेन्सबाट काठमाण्डौ जानेक्रममा उनीहरू पक्राउ परेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिपकुमार गिरी भन्नुहुन्छ ।
रणपहेलीसँगै को २ च २८८२ नम्बरको एम्बुलेन्स चालक पथरी शनिश्चरे वडा नं. ६ का २२ वर्षीय रमण आचार्य र को २ च ३१२१ नम्बरको चालक मोरङ सुनवर्षीका ३६ वर्षीय पूर्णबहादुर तामाङ एम्बुलेन्ससहित पक्राउ परेका छन् । प्रारम्भमा को २ च २८८२ नम्बरको एम्बुलेन्स बिरामी लिएर काठमाण्डौ जाँदै गरेको र इटहरीदेखि अर्कोमा लगाइ दिएको खुलेको छ ।
उज्यालो भएपछि छोरी र नगद हराएकोबारे प्रहरीमा जानकारी गराएपछि खोजी गर्नेक्रममा दुइवटै एम्बुलेन्स र अपहरणमा संलग्नहरूलाई साँगा भञ्ज्याङ्बाट नियन्त्रणमा लिइएको डीएसपी गिरीले बताउनुभयो । नियन्त्रणमा लिइएका तीनैजनालाई अपहरण तथा ज्यान मास्ने र बेच्ने शीर्षकमा मुद्दा चलाइने प्रहरी प्रमुख गिरीले बताउनुभयो ।
उहाँका अनुसार एकाबिहानै घरमा आएका रणपहेलीले मुख थुनेर हल्ला गरे परिवारै मारिदिने भन्दै पैसा बोकेर हिँड्न भनेपछि आमालगायत परिवारको ज्यान बचाउन आफू हिँड्न बाध्य भएको बालिकाले बयान दिएकी छिन् । एम्बुलेन्स कहाँको हो ? कसको हो ?
योसँग मतलब भएन । यसबारे अध्ययन अनुसन्धानमा आएका विषयवस्तुअनुसार एम्बुलेन्समार्फत आपराधिक घटना बढेकाले शंकास्पद व्यक्तिहरूलाई एम्बुलेन्समा चढाउने, महँगो भाडामा एम्बुलेन्स खोजी गरिदिनेलगायत अनुसन्धानबाट खुल्ने अन्य व्यक्तिहरूलाई समेत नछाडिने डीएसपी गिरीले बताउनुभयो ।


