काठमाडाैं । कोरोना महामारीबीच नेपाली शान्ति सैनिकको टोली दक्षिण सुडान प्रस्थान गरेको छ । ७८ जना नेपाली शान्ति सैनिक दक्षिण सुडानमा शान्ति स्थापनार्थ आज बिहान त्यसतर्फ प्रस्थान गरेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएकाे छ । नेपाली सेनाले दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ टोलीको अदली बदली गरेको हाे ।
दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत हाई रेडिनेस कम्पनी (एचआरसी) काे नियमित अदलबदलीका क्रममा नेपाली शान्ति सैनिककाे पहिलो डफ्फा मिसनमा आज बिहान सुडान गएको हाे ।
निर्देशनालयले निकालेकाे विज्ञप्तिमा दक्षिण सुडानको शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको उल्लेख छ । कोभिड-१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पालना गरिएको सेनाले जनाएको छ ।
यस अघि नै शान्ति मिसनमा सेना पठाउने तय भएपनि शान्ति सेनाका लागि काभ्रेको पाँचखालमा तालिमरत सेनामा कोरोना संक्रमण देखिएपछि रोकिएको थियो ।शान्ति मिसनमा पठाउने टोलीलाई नेपाली सेनाले केही दिन अगाडिदेखि नै क्वारेन्टिनमा राख्दै आएको थियो ।
दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु यही असोज २० गते नेपाल आइपुग्ने पनि विज्ञप्तिमा उल्लेख छ ।सनराईज खवर बाट


