काठमाडौं, २२ जेठ । पशुपतिनाथ मन्दिरमा भक्तजनले नौ किलो सुन चढाएका छन् । पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन समितिको प्रतिवेदनले नौ किलो २७६.६४ ग्राम सुनसँगै तीन सय १६ किलो ५८६ ग्राम चाँदी रहेको खोजी गरेको हो । 

२०१९ सालदेखि २०७५ सालसम्ममा भक्तजनले चढाएको सुन नौ किलो २७६.६४ ग्राम पुगेको हो । पशुपति क्षेत्र विकास कोषले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो ।

समितिका संयोजक एवं कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले श्रीपशुपतिनाथको मूल ढुकुटीमा रहेको अभिलेखलाई आधार बनाएर खोजी गर्दा नौ किलो सुन र तीन सय १६ किलो चाँदी पशुपतिनाथको नाममा रहेको जायजेथा फेला परेको जानकारी दिएका छन् ।

पशुपतिनाथ भण्डार तहविलबाट प्राप्त तायदाती मुचुल्का अनुसार २0१९ देखि २0६८ सालसम्म आठ किलो २३२ ग्राम सुन र एक सय ७५ किलो ४५८ ग्राम चाँदी मुल ढुकुटीमा दाखिला भएको देखिएको थापाले जानकारी दिएका छन् । 

प्रतिवेदनमा २0६८ चैतमा पशुपति क्षेत्र विकास कोष ऐन र नियमावली आएपछि सुन र चाँदी थपिएको देखिएको छ । जसअनुसार, २0५९ देखि २0७५ सम्म कोषको सम्पत्ति संरक्षण महाशाखाबाट प्राप्त विवरणमा एक हजार ४४.६४ ग्राम सुन र एक लाख ४१ हजार एक सय २८.७५ ग्राम चाँदी थपिएको हो ।