काठमाडौं । संसदीय दल र केन्द्रीय कमिटीमा अल्पमतमा रहेको ओली समूह जिल्ला नेतृत्वमा पनि प्रष्ट अल्पमतमा छ । ७७ जिल्लाका १५४ जना अध्यक्ष र सचिवमध्ये ओली समूहमा ४३ जना मात्रै लागेका छन् । एमाले र माओवादी एकीकरण भएर बनेको नेकपाको जिल्ला नेतृत्वमा अध्यक्ष र सचिवसमेत दुईजना मात्रै पदाधिकारी थिए । जिल्ला कमिटीहरुको एकीकरण प्रक्रिया सकिएकै थिएन ।

जिल्ला कमिटीका अध्यक्ष र सचिवमध्ये ओली समूहतर्फ २९ जिल्ला अध्यक्ष र १४ जना सचिव मात्रै उभिएका छन् । बाँकी ४७ जिल्ला अध्यक्ष प्रचण्ड र माधव समूहमा लागेका छन् ।

प्यूठानका अध्यक्ष तुलसीराम शर्मा वामदेव गौतम नखुलेसम्म कुनै समूहमा नखुल्ने अडानमा छन् । ६३ जिल्ला सचिवहरु प्रचण्ड र माधव समुहमा उभिएका छन् । ३३ जिल्लामा त ओली समूह पदाधिकारीविहीन बनेको छ ।

ओली समूह प्रदेश २ मा सबैभन्दा बढी कमजोर देखिएको छ । आठ जिल्ला रहेको यो प्रदेशमा तीनजना जिल्ला पदाधिकारी मात्रै ओली समूहमा लागेका छन् ।

यसपछि प्रधानमन्त्रीकै गृह प्रदेश रहेको प्रदेश १ मा ओली समूह कमजोर छ । यो प्रदेशका २८ पदाधिकारीमध्ये ८ जिल्लामा ओली समूह पदाधिकारी विहीन बनेको छ । ६ जना जिल्ला अध्यक्ष ओली समूहमा छन् । यो प्रदेशका कुनै पनि जिल्ला सचिव ओली समूहमा छैनन् ।

पार्टी एकताका बेला एमाले र माओवादीले जिल्ला अध्यक्ष र सचिवको भाग लगाएकाले प्रचण्ड–माधव नेपाल समूहका ७६ जिल्लामा पदाधिकारी छन् । बाजुराका दुवै पदाधिकारी ओली समूहमा लागेकाले प्रचण्ड र माधव समूह यहाँ पदाधिकारीविहीन हुन पुगेको छ । अनलाइन खबरबाट 

तर, सबै प्रदेशमा प्रचण्ड र माधव समूह प्रष्ट बहुमतमा छन् । सबैतिर कमजोर रहेको ओली समूह गण्डकी प्रदेशमा भने तुलनात्मक राम्रो अवस्थामा छ । ११ जिल्ला रहेको यो प्रदेशमा ओली समूहतर्फ ९ जना छन् । यसपछि १२ जिल्ला रहेको लुम्बिनीमा ओली समूहतर्फ ८ जना पदाधिकारी देखिएका छन् ।