काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू जनजाति विरोधी नभएको स्पष्ट पार्नुभएको छ ।

आदिवासी जनजाति महासंघले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘तपाईंहरू माँझ कुनैबेला केही-केहीले केपी ओली जनजाति विरोधी हो भनेका थिए, तपाईंहरुलाई पनि त्यस्तै लागेको थियो, तर त्यो सरासर गलत हो ।’

नेपाल १ सय २७ जातजातिको साझा फूलबारी भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो – ‘हाम्रो नेपाल देश यही विविध जातजातिका कारण विशिष्ट छ, सरकार यसको विरोधी छैन ।’

प्रधानमन्त्री ओलीले तर्क विर्तकका चाङ लगाएर न्यायापालिकाको न्यायाधिकार प्रभावित गर्ने काम भएको बताउनुभयो । अहिले राजनीति दोबाटोमा फसेको बताउदै प्रधानमन्त्री ओलीले चुनाव हुनेमा शंका नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयाे - जनताको अभिमतलाई मान्ने कि नमान्ने भन्ने नै आजको दोबाटो हो प्रतिनिधि सभा विघटनलाई अदालतले पुर्नस्थापना गरेन भने.... भन्दै एकथरी न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेका छन्, तर, हामी कुनै प्रकारले अलमल्लिनु हुँदैन, शंका गर्नुपर्दैन चुनाव हुन्छ ।’

केही तत्वहरु अहिले जनता अल्मल्याउन सकिन्छ कि भनेर लागिपरेका बताउँदै प्रधानमन्त्रीले भन्नुभयाे – ‘जनता अल्मलाउन सकिन्छ कि भनेर केही व्यक्तिहरु थाेत्रा नारा लगाउदै हिँडेका छन्, हिजाे फ्याकेका प्लेकार्ड आज बाेकेर हामी यहाँ छाैं भन्दै छन् ।’

दुई ठूला छिमेकीबीच रहेकाे देश नेपालले त्यसलाई अवसरकाे रुपमा प्रयाेग गर्नुपर्ने बताउनुभयाे । अनुदानमा भारतले खाेप दिँदा अनेक विराेध गरिएकाे बताउँदै उहाँले भारतसँगकाे सम्बन्ध राम्राे रहेकाे बताउनुभयाे ।

सम्बन्ध बिगार्नु राष्ट्रवाद नभइ सपार्नु राष्ट्रवाद भएकाे भनेकाे बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे - 'म भन्दा अगाडि प्रधानमन्त्री हुनुभएकाहरुले किन भारतसँग भूमि फिर्ताका लागि वार्ता गर्न सक्नुभएन ?, किन चीनसँग पारवहन सम्झाैता गर्न सक्नुभएन ? नक्सा छापेर भूमि फिर्ताका लागि वार्ता गर्दा नक्कली राष्ट्रवाद?' प्रधानमन्त्री ओलीले जसरी भएपनि भूमि फिर्ता ल्याएरै छाड्ने बताउनुभयाे ।

जनताले बनाएका सबै मन्दिरमा आफू जाने भन्दै प्रधानमन्त्री ओलीले राज्य कुनै धर्मविशेषको नभएको बताउनुभयो । उहाँले भन्नुभयाे - ‘हिजो म पशुपतिनाथ मन्दिर जाँदा धेरै जना रिसाए, पशुपतिनाथ कुनै विदेशबाट आयातित सभ्यता होइन हाम्रै पुरानो सभ्यता हो, पशुपति मन्दिर गएर के विग्रियो ?’ म शिव, कृष्ण, देवी र नेपाली जनताले विश्वास गरेको सबै मन्दिरमा जान्छु ।’