काठमाडौं, २२ माघ । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इञ्चार्ज डाचाराम वाग्ले मृत भेटिएका छन् ।

बुधबार राति करिब सवा ९ बजे बरहथवा नगरपालिका– ९ स्थित नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत सोल्टीगेट नजिक सडकमा उनी मोटरसाइकलसहित लडिरहेको अवस्थामा अचेत भेटिएका थिए । उनलाई बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकले मृत घोषणा गरेका हुन् । हेलमेट लगाइरहेको अवस्थामा भेटिएका वाग्लेको टाउकोमा केही चोट देखिएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ उनी बरहथवा बजारमा नेकपाले निकालेको मसाल जुलुसमा सहभागी भएका थिए । ‘उहाँकै नेतृत्वमा मसाल जुलुस निकालिएको थियो । त्यसपछि करिब ९ बजेतिर उहाँ हिंड्नु भएको थियो,’ नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले भने, ‘त्यसपछि उहाँ कहाँ जानुभयो भन्ने थाहा भएन । तर, सडकमा लडिरहेको अवस्थामा भेटिनु भयो ।’

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उद्धवसिंह भाटले सडक दुर्घटनामा परेर वाग्लेको ज्यान गएको हुन सक्ने जानकारी दिएका छन् । ज.१०प ३२०६ नम्बरको मोटरसाइकल चढेर आएका वाग्ले कहाँ जाँदै थिए भन्ने खुलेको छैन ।

बरहथवाकै स्थायी बासिन्दा वाग्ले पछिल्लो समय परिवारसहित महोत्तरीको बर्दिबासमा बस्दै आएका थिए । ‘उहाँ बरहथवाबाट राजमार्गतर्फ जाँदै गरेको जस्तो देखिन्छ, त्यसक्रममा जंगल प्रवेश गर्नै लाग्दा दुर्घटनामा परेको हुन सक्छ,’ डिएसपी भाटले भने ।