काठमाडौं। नेकपा एमालेको खनाल-नेपाल पक्षले युवा संघमा समानान्तर कमिटी गठन गरेको छ। खनाल-नेपाल निकट युवासंघको अध्यक्षमा नरेश शाहीलाई चयन गरेको छ।

काठमाडौंमा भएको भेलाले शाहीको अध्यक्षतामा ६०१ जनाको केन्द्रीय कमिटी गठन गरेको छ। नयाँ कमिटीलाई वरिष्ठ नेता झलनाथ खनालले सपथ खुवाएका छन्। यो पक्षले क्रान्ति बुर्लाकोटी वरिष्ठ उपाध्यक्ष र दीपक जीएम महासचिव चयन गरेको छ।

सर्वोच्च अदालतले एमाले ब्युँताएपछि एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले जनसंगठनहरुमा पनि समानान्तर कमिटी बनाउन थालेको हो। चैत ६ गतेमा अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनेको थियो।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले २९ फागुनमा एकपक्षीय राष्ट्रिय भेला गरेपछि खनाल र नेपाल समूहले पनि जयन्ती राईको नेतृत्वमा छुट्टै अनेम संघ बनाएको छ। अनेम संघपछि युवा संघमा पनि समानान्तर कमिटी बनाइएको छ।

yuba1

yuba2