काठमाडौं,११ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहरा उदघाटन गरेका छन्। पुनर्निर्माण सकिएसँगै प्रधानमन्त्री ओलीले शनिबार धरहराको उद्घाटन गरेका हुन्। भूकम्पको ६ वर्षपछि २२ तले नयाँ धरहरा पुनर्निर्माण गरिएको छ। पुरानो धरहराको भग्नावशेषलाई त्यहीँ राखेर नजिकै २२ तले धरहरा पुनर्निर्माण गरिएको छ।
पुनर्निर्माण सम्पन्न भएको धरहरामा ३३० किलोको गजुर राखिएको छ। मंगलधुन र स्वस्तिक वाचनसहित गत बुधबार बिहान ८ बजेको साइतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो। गजुर तामाबाट बनेको र बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए।
‘धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ,’ उनले भने। १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले धरहरा निर्माण गरेका थिए। उनले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरूप यो स्मारक निर्माण गरेको भनाइ छ। त्यतिवेला ११ तलाको धरहरा १९९० सालको भुइँचालोमा भत्केको थियो।
त्यसपछि नौ तला पुनर्निर्माण गरिएको थियो। २०७२ वैशाख १२ गतेको भूकम्पले नौतले धरहरा पनि ध्वस्त भएको थियो। विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो। विसं. २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो। पहिलोपटक प्रधानमन्त्री बनेको बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान शुरु गरेका हुन्।
२०७२ वैशाख १२ को भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहरा जीआईईटीसी-रमन जेभीले धरहराको पुनर्निर्माणको काम भ्याटसहित तीन अर्ब ४८ करोडमा बनाइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। अब बन्ने धरहरा क्षेत्र करिब ४२ रोपनी क्षेत्रफलमा फैलिनेछ। एउटा अर्ध-भूमिगतसहित चार तले भूकम्प र टक्सार सम्बन्धी संग्रहालय निर्माण भइरहेको छ।
त्यस्तै, फुड कोर्ट’ सहितको युटिलिटी ब्लक पनि बन्नेछ। विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैंचा तथा संगीतमय फोहरा हुनेछ। पुरानो कर्मचारी संचय कोषको मूल भवन र टक्सार भवन रहेको स्थानसमेत समेटेर बन्न लागेको धरहरा क्षेत्रमा भूकम्प संग्रहालय रहनेछ।
तीन तले भूमिगत पार्किङको सुविधा पनि हुनेछ। जहाँ ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङ गर्न मिल्नेछ। भीमसेन स्तम्भलाई सिसाले छोपेर संरक्षण गरिनेछ। ऐतिहासिक सुन्धराको पनि संरक्षण गरिनेछ। जसमा चौबिसै घण्टा पानी झर्ने व्यवस्था हुनेछ। धरहरा र संग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण गरिनेछ।
कोरोना महामारीका कारण भएको लकडाउनले पुनर्निर्माणमा अवरोध उत्पन्न भए पनि सुरक्षाका सबै उपाय अपनाएर पुनर्निर्माणको कामलाई गति दिइयो। धरहराको पुनर्निर्माण सम्पन्न भए पनि धरहरा क्षेत्रका बाँकी संरचनाको निर्माण भने जारी नै छ। बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि जमिनमुनि दुई तलाको भूमिगत संरचना रहनेछ र जमिनमाथि भूँइतलासहित २३ तला हुनेछ। यसरी समग्रमा धरहरा २५ तलाको हुनेछ।
जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ। भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ। धरहराभित्र २ वटा लिफ्ट हुनेछन्। एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन्। यसबाट वृद्धवृद्धा एवं अपांगता भएका व्यक्ति धरहरामाथिको पहुँचमा सहजता हुनेछ। साथै फलामको भर्याङ पनि रहनेछ। धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २० औं तल्लाबाहिर २.५ मिटर चौडाइको बार्दली रहेको छ।
२२ औँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ स्थापना गरिएको छ। धरहरामुनिको दुई तले भूमिगत संरचनामा दुईवटा विद्युतीय स्वचालित भर्याङ’बाट तलमाथि गर्न सकिनेछ।




















