काठमाडौं, २३ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकता कायम राख्न छ बुँदे प्रस्ताव अघि सारेका छन्। उक्त प्रस्ताव अनौपचारिक रूपमा केपी ओलीलाई दिइएको छ ।mप्रस्तावको पहिलो बुँदामा २०७५ ज्येष्ठ २ को पार्टी संरचनालाई क्रियाशील पाराैं भन्ने रहेको छ।

त्यसैगरि पहिलो केन्द्रीय कमिटी बैठक बसेर महाधिवेशनको मिति तोक्न र आयोजक समिति गठन गर्न पनि नेपालले प्रस्ताव गरेका छन् । उनले दुवै खेमाबाट बनाइएका कमिटीका सबैलाई समावेश गरेर आयोजक कमिटी बनाउन प्रस्ताव अघि सारेका छन् । यसरी अघि बढे वैशाख २७ मा विश्वासको मत लिएर अघि बढ्न सकिने नेपाल पक्षको प्रस्ताव रहेको छ।

यस्ता छन् प्रस्तावहरुः
१. २०७५ जेठ २ को पार्टी संरचनालाई क्रियाशील पारौं ।

२. पहिलो केन्द्रीय कमिटी बैठकबाट सकेसम्म छिटो महाधिवेशनको मिति तोकौँ र त्यसकालागि आयोजक समिति गठन गरौँ ।

३. आयोजक समितिमा अन्य पार्टीबाट प्रवेश गरेका र अन्य कमरेडहरूलाई समेत आवश्यकता अनुसार मनोनयन गरौँ ।

४. मातहत कमिटीका अधिवेशन गर्ने समय सीमा तोकौँ । दुवै खेमाबाट बनाइएका कमिटीका सबैलाई समावेश गरेर आयोजक कमिटी बनाऔं । २०७५ जेठ २ गते कायम रहेका अध्यक्षलाई संयोजक र अर्को (समानान्तर) कमिटीका अध्यक्ष/संयोजकलाई सहसंयोजक बनाऔं ।

५. एकताबद्ध भएर वैशाख २७ गते संसद्मा विश्वासको पक्षमा मतदान गरौं ।

६. दुई पार्टी एकताबद्ध भए यताका प्रमुख घटनाक्रमका सम्बन्धमा अध्ययन गर्न एक कार्यदल गठन गरौं । त्यसबाट प्राप्त प्रतिवेदनलाई महाधिवेशनमा प्रस्तुत गरौँ ।
     पाथिभरा न्युजबाट