हेटौंडा,२४ बैशाख । शुक्रबार दिउँसो हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा राष्ट्रियसभाका उम्मेदवार डा. खिमलाल देवकोटाको मनोनयन दर्ता कार्यक्रम चलिरहेको थियो । स्थानीय पत्रकारहरु आयोगको कार्यालय परिसरमै केन्द्रित थिए । एकाएक आकाशमा हेलिकोप्टरको आवाज आयो । हेलिकोप्टर डीआइजी कार्यालयमा रोकियो, जसमा थिए राष्ट्रियसभाका सत्तारुढ उम्मेदवार रामबहादुर थापा बादल ।
गृहमन्त्री बादल डीआइजी कार्यालयमा हेलिकोप्टरबाट ओर्लेर गाडी चढी आयोगको कार्यालयमा आए । उनले नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराए । त्यतिबेलासम्म गृहमन्त्री थापाका प्रतिद्वन्दी डा. खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गरिसकेका थिए ।
निर्वाचन आचार संहिताले के भन्छ ?
चुनावमा उम्मेदवार बन्ने क्रममा गृहमन्त्री थापाले हेलिकोप्टर प्रयोग गरेको विषयमा हामीले निर्वाचन आयोगका एक अधिकारीलाई सोध्यौं, गृहमन्त्रीले चुनावमा यसरी हेलिकोप्टर प्रयोग गर्नु आचार संहिता विपरीत हो कि हैन ?
ती अधिकारीले निर्वाचन कार्यक्रम प्रकाशन भएसँगै कानूनतः निर्वाचन आचार संहिता लागू हुने बताए । चुनाव प्रचार–प्रसारमा आयोगको अनुमति लिएर चारपाङ्ग्रे गाडी वा घोडामात्र प्रयोग गर्न पाइने उनले सुनाए ।
तर, उम्मेदवार बन्न जाने व्यक्तिको हकमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्रै आचार संहिता लागू हुने उनको तर्क छ । आयोगका ती अधिकारी भन्छन्, ‘बादलजी उम्मेदवार दर्ताका लागि जानुभएको हो, पर्सिदेखि उम्मेवारहरुलाई आचार संहिता लाग्छ ।’
याे पनि
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन कार्यक्रम तय, यस्तो छ तालिका
यद्यपि गृहमन्त्री थापाले चार्डर्ड गरेको हेलिकोप्टरको खर्च व्यक्तिगत वा एमाले पार्टीले व्यहोर्ने हो कि उनले सरकारी खर्चमा हेलिकोप्टर चढेका हुन् भन्ने कुरा चाहिँ हेरिनुपर्ने आयोगका ती अधिकारी बताउँछन् । सामान्यतः यो विषय नैतिक प्रश्न हुने उनले बताए ।
बादललाई सूर्य, खिमलाललाई हँसिया–हथौडा !
पूर्वमाओवादी नेता बादल सत्तारुढ एमालेका तर्फबाट सूर्य चिन्ह लिएर चुनाव लड्दैछन् । उता एमालेनिकट बुद्धिजीवीका रुपमा चिनिने डा. देवकोटाले चाहिँ माओवादी, काँग्रेस र माधव नेपाल समूहका तर्फबाट हँसिया–हथौडा चिन्हबाट चुनाव लड्दैछन् ।
देवकोटाका प्रस्तावक माओवादी र समर्थक नेपाली काँग्रेस छन् । स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेका छन् । गृहमन्त्री थापाका प्रस्तावक मुख्यमन्त्री डोरमणि पौडेल छन् ।
जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा वागमती प्रदेशसभाका ११० र स्थानीय तहका २३८ जना प्रमुख र उपप्रमुखहरूले मतदान गर्नेछन् ।
यसअघि गृहमन्त्री थापा यही प्रदेशबाट राष्ट्रियसभा सदस्य थिए । माओवादी पार्टी छाडेर एमालेमा लागेपछि उनको पद खोसिएको हो । र, यही रिक्त स्थानमा बादल एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् ।

डराउँदै चुनावी दौडमा
गृहमन्त्री बादललाई दुई साताअघि नै एमालेले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने घोषणा गरेको थियो । तर, विपक्षी मोर्चाबाट संघीयताविद डा. खिमलाल देवकोटाको उम्मेदवारी घोषणा भएपछि बादल चुनाव लड्न हच्किएका थिए । अन्ततः एमालेले बादललाई नै उम्मेदवार बनाएको छ ।
बागमतीमा गृहमन्त्री थापा र विपक्षी उम्मेदवार देवकोटाबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । राष्ट्रियसभाको चुनावमा मतदान गर्ने वागमतीका ११० प्रदेश सांसदमध्ये एमालेसँग एक्लै ५७ सांसद छन् ।
तर, माधव नेपाल समूहबाट देवकोटाको उम्मेदवारी परेपछि एमालेका ५७ प्रदेशसभा सदस्यमध्ये ओलीको पक्षमा ३४ जना र नेपालको पक्षमा २२ जना बाँडिने देखिएको छ । यसमा माओवादीका २३ र काँग्रेसका २२ सांसद जोड्दा ६७ सांसद हुन जान्छ, जुन ११० सांसदको बहुमत हो ।
प्रदेशसभामा साना दलहरूसँग ८ सिट छ । साना दलमध्ये तीन सिट रहेको नेमकिपाले कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएका कारण नेमकिपाको भोट बादल र खिमलाल दुबैले नपाउने निश्चित छ । प्रदेशमा तीन सिट र स्थानीय तहमा दुई सिट ओगटेको नेमकिपाको कुल मतभार १३२ छ ।
यो उपचुनावमा विवेकशील साझाको १४४, राप्रपाको १३२ र जसपाको ६६ मतभार छ । यसमध्ये राप्रपाबाहेक अरुको भोट बादलले पाउने सम्भावना कम देखिन्छ ।
त्यसैगरी, स्थानीय तहका कुल २३८ मतदातामध्ये एमालेसँग यसअघि एक्लै १३३ जना रहेकोमा देवकोटाको उम्मेदवारीपछि माधव पक्षका करिब ४५ जना देवकोटाको पक्षमा उभिने देखिएको छ । यसो गर्दा बादलको पक्षमा ८८ जना मात्रै रहन्छन् । स्थानीय तहका मतदातामध्ये काँग्रेसका ६८, माओवादीका ३३ र माधव पक्षका २४ जना जोड्दा १२५ पुग्छ । यो संख्या भनेको प्रदेशमा जस्तै स्थानीय तहका मतदाता (२३८) को पनि देवकोटाको पक्षको बहुमत हो । रातोपाटी बाट


