काठमाडौं,७ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपालले महामारीको चपेटामा निर्वाचन गर्नु अपराधपूर्ण काम भएको बताएका छन्। शनिवार विज्ञप्ति जारी गरेर नेता नेपालले संविधान मिच्दै महामारीमा निर्वाचनमा धकेल्नु जायज नभएको बताएका हुन्।
‘देश कोरोना महामारीको चपेटामा परिरहेको बेला देश, राजनीतिक दलहरू र आफ्नै दललाई एकताबद्ध बनाई महामारीविरुद्ध जुझ्नु पर्ने बेलामा देशलाई संविधान मिच्दै जबरजस्ती निर्वाचनमा धकेल्नु राष्ट्र र जनताविरुद्ध अपराधपूर्ण कार्य हो। यो नेपालको इतिहासमा कलंकको रूपमा दर्ज हुनेछ,’ विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्री ओलीले राष्ट्र र पार्टी विवादलाई निकास दिनुको सट्टा अनिश्चयतर्फ धकेलेको नेता नेपालको आरोप छ।
‘हामीले नेपालको संविधान, लोकतन्त्र र स्वयं हाम्रो पार्टीको रक्षा गर्न सबै प्रकारका प्रयास गर्यौं। यस प्रयोजनका लागि देशको संविधान र पार्टीको विधानबमोजिम पार्टीलाई एकताबद्ध गर्दै राष्ट्रलाई एकताबद्ध गर्न प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी अध्यक्ष केपी ओलीसँग वार्ता गर्ने, लिखित प्रस्ताव पठाउनेलगायत काम गरेका थियौं। तर, त्यसप्रति देश र पार्टीलाई अनिश्चयतर्फ धकेल्न उद्यत प्रधानमन्त्री ओलीबाट कुनै वास्ता गरिएन। त्यसो गर्नुको आशय प्रतिनिधिसभाको विघटनमा प्रकट भएको छ,’ वक्तव्यमा भनिएको छ।
नेता नेपालले प्रधानमन्त्री र राष्ट्रपतिको साँठगाँठमा संसद् विघटन गरेको आरोप लगाएका छन्। संसद् विघटन रोक्नकै निम्ति आफूहरूले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दाबी पेस गर्न सहयोग गरेको बताएका छन्। नेता नेपालले लोकतन्त्रका पक्षधर पार्टीका नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा दृढताका साथ एकताबद्ध भई प्रधानमन्त्री र राष्ट्रपतिको संविधान विरोधी प्रतिगमनकारी कार्यविरुद्ध अघि बढ्न आग्रह पनि गरेका छन्।



