पथरी, २८ असार । नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको पथरी शनिश्चरे नगर कमिटीले आज सार्वजनिक भएको न्यायालयको फैसालाका विरूद्धमा शहरको लोकतान्त्रिक चौकमा बृहत् साङ्केतिक विरोध प्रदर्शन सम्पन्न गरेको छ ।
सम्पन्न कार्यक्रममार्फत प्रधान न्यायधिशसहित अन्तिम इजलास कक्षमा उपस्थित सर्वोच्च अदालतका ५ जना न्यायधिशको प्रतिबिम्बको झल्को दिने गरि तयार गरिएका युवा नेताले हातमा गम्भीर सन्तुलन बिग्रिएको तराजु लिएर न्यायालयप्रति कडा व्यङ्गबाण प्रहार गरेको बुझिन्छ ।

स्थानीय युवा नेता किशन राईको अध्यक्षता र रञ्जीतकुमार कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा उपस्थित पार्टीका प्रखर युवा नेता युवराज बास्कोटा र अतिथिद्वय युवा संघका राष्ट्रिय उपमहासचिव विजय डाँगी र नगर उपप्रमुख यमुना विष्टले सारगर्भित सम्बोधन गरेका थिए ।
सम्बोधनक्रममा युवा नेता बास्कोटाले संवैधानिक व्यवस्थाअन्तर्गत कार्यादेशभित्र न्यायमात्र सम्पादन गर्नुपर्ने न्यायालयको अनावश्यक र अनुचित अग्रसरताबाट विकसित परिस्थितिमा संस्थागत हुनेक्रममा रहेको रहेको राजनीतिक स्थायित्वविरूद्ध सलबलाएका शक्तिहरूलाई आज विकसित अवस्थाले जुनेली रात चोरलाई असजिलो भन्ने झैँ भएको आरोप लगाए । प्रधानमन्त्री को हुने ? ठूलो कुरा भएन । जनताको छोरो जो कोही पनि प्रक्रिया पूरा गरेर मन्त्री, प्रधानमन्त्री हुन सक्छ ।

आजको संसदीय अभ्यासमा प्रधानमन्त्री बनाउने जनादेशले हो, परमादेशले होइन उनले थपे । आफ्नो पार्टी न्यायलयको सम्मान गर्छ, परमादेश पालना गर्छ तर दलको नेतालाई संसदीय ह्वीपसमेत नलाग्ने निर्दलीय अभ्यासलाई किमार्थ नमान्ने, नस्वीकार्ने भन्दै नेता बास्कोटाले आजको सर्वोच्च अदालतको फैसालाले देश दलविहिन अवस्थाको अँध्यारो सुरूङको यात्रातर्फ धकेलिएको बताए ।
युवा उपमहासचिव डाँगीले युवाहरूलाई सडकमा जीउज्यानको बाजी थापेर उत्रन वाध्य नपरियोस् भन्दै कम्युनिष्ट पार्टीको नेतृत्वले सुन्दर सपना सजाएर क्रियाशील आम नेपाली युवाको भविष्यमाथि गम्भीर खेलबाड गरेको आक्रोश पोखे । कम्युनिष्ट पार्टीको उम्मेदवार भएर भोट माग्ने, हामी कार्यकर्तालाई बन्धक बनाउने, जनविश्वास आर्जन गर्ने अनि आफू अनुकूल राजनीतिक स्वार्थ र यो स्वार्थसिद्धका लागि प्रतिक्रियावादी शक्तिको भरियो बन्ने तपाईं नेतृत्व आफैमा को हो ? कडास्वरमा चेतावनी समेत दिए ।
उपप्रमुख विष्टले यो दलीय व्यवस्थामा पनि विगतको निर्दलीय अभ्यासझैँ न्यायालयले नै सबै कुरा गर्ने भए किन चाहियो राजनीतिक दल, निर्वाचन आयोग र तदानुरूपका संरचनाहरू ? भन्दै न्यायलयले गम्भीर बिचार गर्नुपर्ने राय सुझाइन् । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य जीवन खतिवडा, भगतचन्द्र थपलिया, भीमकुमार राईं, युवा नेताहरू भोपाल श्रेष्ठ, मणिकुमार लिम्बू, नवीनजंग कार्की, बिरोज मगर, अनोज घिमिरे, काशीहाङ राईं, पर्शुराम न्यौपाने, कपिल ढकाल, रोमान्सी धिमाल, गौतम राईं, उपेन्द्र मादेनलगायत सयौं जोशिला युवाहरूको सहभागिता रहेको थियो ।


