काठमाडौं,२४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक,आर्थिक, सामाजिक रूपान्तरणमा महिलाहरूको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको बताउनुभएको छ ।
 
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै ओलीले ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरूमा नेपाली महिलाले अग्र मोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको बताउनुभएको छ । देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागिता अत्यन्त जरुरी रहेको ओलीले जारी गर्नुभएको सन्देशमा उल्लेख छ ।

विगतमा नेकपा (एमाले)को सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरुप नेपालको लैङ्गिक विकास सूचांकमा उल्लेख्य सुधार भएको उहाँले बताउनुभएको छ ।
 
कानुनी प्रबन्ध र राज्यको प्रयासले मात्र उत्पीडनलाई निमिट्यान्न पार्न नसकिने एमालेले जनाएको छ । ‘त्यसका लागि सामाजिक जागरूकता आवश्यकता पर्दछ, यस्तो जागरूकताको अभावका कारण महिला र पुरुष बराबरी भनिए पनि समाजमा भेदभाव र असमानताहरू कायमै छन्’, एमाले अध्यक्ष ओलीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ  

समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा सामाजिक न्याय महत्त्वपूर्ण आयाम भएको ओलीले बताउनुभएको छ । राष्ट्रको समृद्धि र जनताको सुखका लागि नेकपा ( एमाले)ले अघि बढाएको अभियानमा एमालेलाई सरकारबाट बाहिर पुराएपछि अल्पविराम लाग्न पुगेको उहाँले बताउनुभएको छ ।