काठमाडाैं,९ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले कमजाेर भइसकेकाे बताउनुभएकाे छ ।
समाजवादी प्रेस संगठन नुवाकोटले मंगलबार विदुरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमाले भन्दा आफूहरु बलियाे भएकाे दाबी गर्नुभयाे । आफ्नाे पार्टीमा उत्साह देखिएकाे दाबी गर्दै उहाँले भन्नुभयाे - 'हामीले ६ महिनामै धेरै प्रगति गरेका छाैं,राष्ट्रिय सभा सदस्य चुनाव लगायत क्षेत्रमा नेकपा एमालेलाई पछार्न पनि सफल भएका छाैं ।'
केपी शर्मा ओली अंहकारी नेता भएकाे गम्भीर आराेप पनि अध्यक्ष नेपालले लगाउनुभयाे । 'ओलीकै अहंमताका कारण एमाले कमजाेर भइसक्याे, उनी सबै ठाउँ पराजित भइसके,उनकाे पार्टीका नेता-कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर चलेकाे छ, उनीसँग रहेकाहरु पनि विस्तारै-विस्तारै आउनेछन्'-उहाँले भन्नुभयाे । एमालेलाई थप कमजाेर पार्नका लागि सबै वाम र लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने उहाँकाे भनाइ छ ।
आगामी चुनावमा आफ्नाे पार्टीकाे पक्षमा राम्राे नतिजा आउने दाबी समेत अध्यक्ष नेपालले गर्नुभयाे । स्थानीय तहको चुनाव ताेकिएकै समयमा हुने भन्दै उहाँले अहिलेकाे गठबन्धन चुनावसम्मै कायम रहने बताउनुभयाे । गठबन्धनमा रहेका दललाई एकअर्काकाे आवश्यकता रहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'चुनावी गठबन्धनको नाममा अरुको सहारामा होइन, आफ्नो सहारामा चुनावमा उठ्नका लागि, आफ्नो शक्तिमा चुनावमा उठ्नका लागि, पार्टी कमिटी निर्माण गर्ने काममा जुटेका छाैं, शक्तिको उचित मूल्याङ्कन गर्दै वस्तुवादी भएर संयमता अपनाएर ‘अरुलाई पनि हामी, हामीलाई पनि अरु’ आवश्यक रहेको सन्देशका साथ चुनावी तालमेल गर्न लागेका छौँ ।'
यो गठबन्धन ६ महिना टिक्दैन भन्नेहरुलाई देखाउनका लागि पनि आफ्नो पार्टी चुनावी गठबन्धनका लागि तयार रहेकाे माधवकाे भनाइ छ ।


