रुपन्देही,२४ चैत । बर्दियामा नेपाली कांग्रेस गुलरिया नगरपालिकाका उपमेयर सुशीला गिरी, वडानम्बर ६ का वडाअध्यक्ष निरज शर्मालगायतका नेपाली कांग्रेसका नेताहरु सहित माओवादी,जसपा र विभिन्न पार्टी परित्याग गरी ४ हजार ५ सय जना एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले बिहीबार बर्दिया पुगेर उनीहरुलाई एमालेमा भित्राएका छन् । दिउसोको चर्को गर्मीका बाबजुत सदरमुकाम गुलरियामा भएको विशाल कार्यक्रममा स्थानीयको खचाखच रहेको थियो । त्यो भन्दा अगाडि बाँकेमा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बाँकेका उपसचिव ईश्वर थापासहित नेकपा एसकै युवा संघका केन्द्रीय सदस्य राजु तामाङसहित पाँच सय जनालाई ओलीले एमालेमा प्रवेश गराएका थिए ।
एमाले केन्द्रीय सदस्य किस्मतकुमार कक्षपतिले बाँके बर्दियामा एमालेको असाधारण जनलहर आएको बताए ।सो अवसरमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा हराएर देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र असफल बनाउनुपर्ने जिम्मेवारी जनतामा आएको बताएका छन् । लोकतन्त्र र विकास निर्माणको कामलाई अगाडि बढाउन एमालेले जित्नुपर्ने ओलीले बताए ।

बाँके र बर्दियामा आएको लहरले ले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी चुनावमा एमालेले जितेमात्रै देशको लोकतन्त्र र विकास निर्माणको काम द्रुत गतिमा अगाडि बढ्ने दावी गरे ।
ओलीले एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न नसक्ने बताए । अध्यक्ष ओलीले भने, ‘देशलाई झन गरीव हुनबाट बचाउन सकिदैन र यी सबै समस्याबाट पार पाउन आगामी चुनावमा एमालेलाई जिताउनुपर्छ ।’ उनले सरकारले अस्पताल र विद्यालयका आयोजनाहरु समेत बन्द गर्न थालेकाले बृद्ध भत्तासमेत बाँड्न रोक्ने आशङ्का गरे ।
ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक-एक लाख रकम दिने घोषणा गरे । मुलुकको समृद्धिका लागि स्थानीय निर्वाचनमा जनताले आफ्नो पार्टीलाई नेतृत्व दिने ओलीले बताए । उनले समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको समेत बताए ।
उनले गठबन्धन सरकारबाट देशको विकास हुन नसक्ने दाबी गरे । नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेको ओलीले बताए ।
ओलीले नेकपा (समाजवादी) पार्टीका उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका छन् । ‘नेकपा (एस) भन्ने पार्टी बाँकेबाट साफ भएको छ । अब एसका कार्यकर्ता खोजेर पनि पाइँदैनन्,’ उनले भने,‘बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभर जनलहर चलेको छ ।’
किन आयो बाँके बर्दियामा एमालेको लहर ?
मंसिर १ गते एमाले अध्यक्ष ओलीले नेपालगन्ज निवासी मधेस आन्दोलनका एकजना नेता, राजपाका पूर्व सहमहामन्त्री, स्वतन्त्र राजनीतिक विचार समूहका नेता पशुपतिदयाल मिश्र एमालेमा औपचारिकरुपले प्रवेश गराएका थिए । उनीसहित त्यो दिन नेपालगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा करिब चार हजार ५ सय व्यक्तिहरु एमाले प्रवेश गरेपछि यहाँको राजनीति एकाएक चर्चित भएको हो ।
एमाले प्रवेश गरेपछि नेता मिश्रले एमालेको कार्यशैली र केपी ओलीको दृढता मन परेर पार्टीमा प्रवेश गरेको बताएका थिए । उनले नेकपा एमाले मधेश विरोधी भनेर लाग्ने आरोप गलत भएको पनि बताउँदे भने, ‘नेकपा एमाले मधेश विरोधी हो भनेर आरोप लाग्ने गरेको थियो, कि यो पार्टी मधेश विरोधी हो भनेर । केही कुराहरुले त्यो स्थापित भएको थियो । तर अहिले जब सहकार्य गर्यौँ, यो पार्टीको कार्य गर्ने शैली, अध्यक्ष कमरेड केपी ओलीको कार्य गर्ने शैली, मधेशप्रतिको दृष्टिकोण र कदम क्लियर छ । उहाँले धेरै विकास आयोजनाहरु मधेशमा ल्याउनुभएको छ । उहाँको निणर्य शक्ति दृढ हिसाबले काम गर्नुभयो ।’
नेपालगन्जको बालेगाउँस्थित मेरो प्लानेट फनपार्कमा ओलीले भनेका थिए ‘बाँकेको भलो होस् । बाँकेमा विकास होस् र बाँकेवासीको जय होस् ।’ ओलीले एमाले प्रवेश गरेका पशुपतिदयाल मिश्रको तारिफ गर्दै अब बाँकेलाई एमालेको लालकिल्ला बनाउन कार्यकर्तालाई निर्देशन दिएका थिए ।
मिश्रसँगै करिम खाँ, गिरिजा पाठकलगायतका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेपछि यसअघि नेपालगन्जमा एमालेले गुमाएको स्थानीय सरकार हात पार्ने आंकलन गरिएको छ ।
यस्तो थियो गत स्थानीय तहमा यहाँको मत परिणाम :
बाँके -
१. कोहोलपुर नगरपालिका: एमाले(९००७), कांग्रेस (८९२४), माओवादी (६२२१)२. खजुरा गाउँपालिका: एमाले (८०७०), कांग्रेस (४९५४), माओवादी (६८९२)
३. जानकी गाउँपालिका: एमाले (३०८३), कांग्रेस (३००९), संघीय समाजवादी (२१५८), माओवादी(१९३४)
४. डुडुवा गाउँपालिका: कांग्रेस (४६९१), संघीय समाजवादी (४१९२), एमाले(१४६६), माओवादी (९३७)
५. नरैनापुर गाउँपालिका: संघीय समाजवादी(४०८०), कांग्रेस(३३८८), एमाले(१८७२), माओवादी(५७८)
६.नेपालगंज उपमहानगरपालिक: राप्रपा(१२५१५), कांग्रेस(८७३०), माओवादी(७१९८), एमाले(६९६५)
७. बैजनाथ गाउँपालिका: एमाले (९७७२), कांग्रेस(६५७६), माओवादी (५३६३)
८. राप्ती रोनारी गाउँपालिका: कांग्रेस (८२३६), एमाले(६९००), माओवादी(६६६४)
बर्दिया
१. गुलरिया नगरपालिका: कांग्रेस (६२०७), एमाले(५७३६), माओवादी (४९०४)
२. गेरुवा गाउँपालिका: कांग्रेस (६००३), माओवादी(५१५८), एमाले(२७०९)
३. ठाकुरबाबा नगरपालिका: एमाले (७०७४), माओवादी(६९५५), कांग्रेस(४५४०)
४. बढैयाताल गाउँपालिका: एमाले (८१९८), माओवादी(६८९६), कांग्रेस(४९६१)
५. बारबर्दिया नगरपालिका: माओवादी(११०४२), एमाले(८६४५), कांग्रेस (८१९९)
६. बासगढी नगरपालिका: एमाले (८७७५), माओवादी(७८२२), कांग्रेस(६४७६)
७. मधुवन नगरपालिका: माओवादी(८४३१), एमाले(५९२३), कांग्रेस(५४३१)
८. राजापुर नगरपालिका: माओवादी(९५३५), कांग्रेस(८८८३), एमाले(५२३५)



















