काठमाडौं,७ बैशाख । ‘म सात वटै रुख चिन्हमा भोट हाल्छु, कांग्रेसले कारबाही गरेर देखाओस्’, नेपाली कांग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरेले सार्वजनिक रूपमा नै भन्नुभयो ।
प्रधानमन्त्री पद जोगाउन शेरबहादुर देउवाले माओवादी, समाजवादी लगायतका सत्ता गठबन्धनका दल बिच स्थानीय तह निर्वाचनको लागि केन्द्रबाटै भागबण्डा गरेपछि नेपाली कांग्रेसका नेता कार्यकर्ता र पार्टी इकाई विद्रोहमा उत्रिएका छन् । अन्य नेता कार्यकर्ता मात्र होइन देउवाकै केन्द्रीय समितिका पदाधिकारी समेत उहाँको निर्णयको विपक्षमा हुनुहुन्छ ।
कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेता खुलेरै यो गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिइरहनुभएको छ । कांग्रेसका अधिकांश नेता कार्यकर्ता गठबन्धनको विपक्षमा भए पनि देउवाले प्रधानमन्त्री पद जोगाउनकै लागि गठबन्धनको निर्णय गर्नुभएको छ ।
देउवाको यो निर्णयलाई पार्टीका तल्ला इकाईले चुनौति दिएका छन् । सभापतिको निर्णय विरुद्ध देश भरि नै विद्रोहको आवाज उठेको छ ।
भरतपुर महानगरपालिका प्रमुखमा गठबन्धनबाट माओवादीलाई दिने निर्णयको विरुद्ध सो महानगरपालिका कांग्रेसले विद्रोह गर्ने भएको छ । भरतपुर कांग्रेसले कांग्रेसका छुट्टै उम्मेदवार उठाउने र प्रचण्ड पुत्री रेणु दाहाललाई कुनै पनि हालतमा यस पटक मत नहाल्ने बताइ सकेको छ ।
पोखरा महानगरपालिकाको प्रमुख देउवाले माधव नेपाललाई जिम्मा लगएको विरुद्ध त्यहाँको कांग्रेसले विद्रोह गरेको छ । सो निर्णय विरुद्ध पोखरा महानगरपालिका कांग्रेसले पार्टी जिल्ला कार्यालयमा बुधबारै ताला लगाएर विद्रोहमा उत्रिएको छ ।
नेपाली कांग्रेसका संस्थापक स्वर्गीय बीपी कोइरालाको गृह नगर विराटनगरको उपप्रमुख समेत देउवाले जनता समाजवादी पार्टीका पोल्टोमा हालिदिएपछि त्यहाँको कांग्रेस पनि विद्रोहमा उत्रिएको छ । कांग्रेसका विराटनगर सभापति दीपक चापागाईंले विराटनगरमा कांग्रेस एक्लै चुनाव लड्ने बताउनुभएको छ । ‘गठबन्धनको निर्णय हामी कांग्रेसका कार्यकर्ताले मान्नुपर्छ भन्ने छैन, हामी अस्वीकार गर्छौँ र एक्लै चुनावमा जान्छौँ’, उहाँको सार्वजनिक अभिव्यक्ति छ ।
हेटौँडा उपमहानगरपालिका माधव नेपाललाई जिम्मा लगाएपछि त्यहाँका कांग्रेस पनि विद्रोहमा उत्रिएका छन् । हटौंडा कांग्रेसले केन्द्रको निर्णय नस्विकार्ने बताएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख नै जनता समाजवादी पार्टीलाई दिएपछि कांग्रेस नेता विमलेन्द्र निधि लगायतका नेता र त्यहाँको पार्टी आन्दोलित भएको छ । मधेसमा कांग्रेस सिद्ध्याउने खेल सुरु भएको टिप्पणी निधिले गर्नुभएको छ ।
केन्द्रको निर्णय विरुद्ध ठाउँ ठाउँमा कांग्रेसका नेता सङ्गठित निर्णय नै गरेर उठेका छन् । नेहरुले भागबण्डा मिलाए पनि कार्यकर्ता र पार्टीका तल्ला इकाईले त्यसलाई अस्वीकार गर्दा पार्ने चुनावी प्रभाव सहजै अडकल गर्न सकिन्छ । गठबन्धनको निर्णय र त्यस माथि गठबन्धनमा गरिएको जबरजस्ती गठबन्धनकै दललाई गलपासो बनेको छ ।



















