काठमाडौं,९ बैशाख । पोखरा महानगरपालिकामा नेपाली कांग्रेसको मेयरको टिकट पार्टी प्रदेश समितिले रोकिदिएको छ । महानगर समितिबाट सिफारिस भएका १८ जनाको नाम नेपाली कांग्रेसको गण्डकी प्रदेश समितिले रोक्दै उपमेयरको नाम मात्र पार्टी केन्द्रमा सिफारिस गरेको छ ।
बिहीबार बसेको प्रदेश समितिको बैठकले प्रमुखको नाम रोकेर उपप्रमुखको नाम मात्र सिफारिस गरेको हो । केन्द्रको भागबण्डमा पोखरा उपमहानगरपालिका माधव नेपालको पार्टीको भागमा परेको छ । नेपाली कांग्रेस महानगर समितिले त्यसलाई अस्वीकार गरेको भए पनि प्रदेश समितिले भने त्यसलाई मान्यता दिएको छ ।
पोखरामा कांग्रेसबाट प्रमुखमा १८ जना र उपप्रमुखमा १० जनाले दाबी गर्नुभएको थियो । तर मेयरको टिकट गठबन्धनको केन्द्रबाट माधव नेपालको पार्टीलाई दिने निर्णय गरेपछि पोखरा कांग्रेसले पार्टीको जिल्ला कार्यालयमा ताला लगाएर विरोधमा उत्रिएको छ ।



















