दमक,११ बैशाख । आज देशभर स्थानीय तहका लागि उम्मेदवारी दर्ता भएको छ । पहिलो दिन धेरैको नजरमा परेको पालिका हो– झापाको दमक नगरपालिका ।

पूर्वी नेपालमा सर्वाधिक र अति तिब्र गतिमा विकास भइरहेको यो पालिकामा देशभरीको ध्यान जानुको कारण हो– यो एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । दमक नगरपालिकामा एमालेका उम्मेद्धारहरुले सानदार र्.याली सहित मनोनयन दर्ता गराएका छन् । एमालेले यस अघिकी उपमेयर गीता अधिकारी पौडेललाई एमालेले मेयरमा उठाएको छ भने पूराना नेता अम्बिका खनाललाई उपमेयरमा अघि बढाएकाे छ ।

आज मनोनयनको पहिलो दिन वृहत्त र्‍याली सहित दमक एमालेका उम्मेद्धारहरु मनोनयन दर्ता गराउन जिल्ला निर्वाचन आयोग पुगेका थिए । उम्मेदवारी दिन जाँदा नेकपा एमालेका केन्द्रीय सदस्यहरु रोमनाथ ओली, गोविन्द थापा लगायतको उपस्थिति थियो । त्यसैगरी अर्का प्रभावशाली नेता होमबहादुर थापा लगायतका हजारौं नेता कार्यकर्ता उम्मेदवारी दिने क्रममा र्याली सहित निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

damak-chunab-mahol_269800563

अघिल्लो चुनावको कुरा गर्दा दमकमा मेयर उपमेयर दुबैमा एमालेले जितेको थियो । एमालेका रोमनाथ ओलीले नगरप्रमुख र गीता कुमारी पौडेल उपप्रमुखमा जित्नुभएको थियो ।

दमकमा एमालेका अत्यन्तै बलियो प्रभाव छ । नगरमा यो पाँच वर्षमा चमत्कारिक विकास भएको छ । जसका कारण देशमै सबैभन्दा धेरै जग्गा पास हुने र जग्गाको भाउ सबैभन्दा आकाशिनेमा दमक अग्रणी भएको छ ।

‘पाँच वर्षमा एमालेले गरेको विकास नै हामीले जित्ने आधार हो’– उम्मेदवारी दर्ता गराएपछि मेयरकी उम्मेदवार गीताले भन्नुभयो । मेयर उपमेयर सहित दमकका वडाहरुमा पनि एमालेले उम्मेदवारी दर्ता गरेको छ । दमकमा एमालेलाई पराजित गर्न केन्द्र स्तरबाटै सत्ता गठवन्धनले विशेष ध्यान र जोड दिएको छ । तर, दमकमा गठवन्धन नै चकनाचुर भएर फुटेको छ ।

सात तिर मुख फर्किएको सत्ता गठवन्धनका कारणले पनि एमालेको स्थिति झन बलियो बन्दै गएको छ । स्थानीयवासी भन्छन्– बरु कांग्रेस एक्लैले उम्मेदवारी दिएको थियो भने एमालेलाई थोरै भए पनि टक्कर दिन्थ्यो तर गठवन्धन गर्नाले एमालेको एकलौटी वर्चश्व हुने अवस्था आएको छ ।

दमकमा कांग्रेसले एउटै पनि वडा जितेको थिएन भने दुईटा वडा राप्रपाले जितेको थियो । बाँकी सम्पूर्ण वडा एमालेले जितेको थियो । गठवन्धनले यस पटक पहिलो दिन उम्मेदवारी दर्ता गर्न समेत सकेन । ‘फेरि पनि हामी दमकमा क्लिन स्वीप गर्छाै’– एमाले केन्द्रीय सदस्य गोविन्द थापा भन्नुहुन्छ ।