सुन्दरहरैंचा,११ बैशाख । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट सम्पन्न गरेको छ । सुन्दरहरैंचा नगरपालिकामा बहुमतको अवस्थामा रहेको नेकपा एमालेले आज वडा नम्बर १० का उम्मेदवारको छिनोफानो लगाएको हो ।
अनौपचारिक रुपमा केही दिन देखी अघि नै उम्मेदवार को छान्ने तय गरेपनि आज भने औपचारिक रुपमा सर्वसहमतिमा उम्मेदवार चयन गरिएको नेकपा एमालेका मोरङ जिल्ला कमिटी सचिवालय सदस्य राजेश थापाले जानकारी दिए । एमालेले वडा नम्बर १० मा हालका निर्वाचित वडासदस्य तथा नेकपा एमाले सुन्दरहरैंचाका नेता राजकुमार राईलाई वडाध्यक्षको उम्मेदवार बनाएको हो ।
पार्टीमा र जनप्रतिनिधी हुदा इमान्दार छवी बनाएका राइले अघिल्लो स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचा १० पुरुष सदस्यहरु बाट सबैभन्दा बढी मत पाएर निर्वाचित भएका थिए । एमालेको किल्लाको रुपमा रहेको सुन्दरहरैंचा १० मा गत निर्वाचनमा नेकपा एमालेले शानदार रुपमा जित हाशिल गरेको थियो । त्यसैले यसपटक अघिल्लो निर्वाचनमा सबैभन्दा लोकप्रिय मत पाएका हालका वडासदस्य राईलाई वडाध्यक्षको उम्मेदवार बनाएकोमा वडामा नेकपा एमालेको लहर अझ बढेकाले सुन्दरहरैंचा १० मा नेकपा एमालेको जित सुनिश्चित रहेको स्थानीय महिला नेत्री सिता दाहाले बताइन ।
नेकपा एमालेले सुन्दरहरैंचा १० मा अन्य उम्मेदवारहरुमा खुल्ला सदस्यतर्फ रमेश गौतम र ओमप्रसाद थपलिया, महिला सदस्यतर्फ बविता खापुङ र दलित महिला सदस्यतर्फ गंगामाया बिकलाई उम्मेदवार बनाएको छ । गौतम नेकपा एमालेको युवानेता हुन भने थपलिया एमालेको पुरानो नेता हुन । यस्तै खापुङ पार्टीको मोरङ जिल्ला कमिटी सचिवालय सदस्य हुनुहुन्छ भने बिक अखिल नेपाल महिला संघ नगर कमिटी सदस्य हुन् ।



















