नुवाकोट,२४ जेठ । फोहर व्यवस्थापनमा अबरोध गरेर राजनीति गर्ने नेपाली कांग्रेसका नेता श्रीराम ढुंगानासहितका ११ जना पक्राउ परेका छन । सोमबार सहरी विकास मन्त्रालयमा सरोकारवाला जनप्रतिनिधिहरूको रोहबरमा भएको सहमतिअनुसार मंगलबार बिहानै फोहोर बोकेर बञ्चरेडाँडा पुगेका सवारीसाधान नेपाली कांग्रेसका नेता ढुंगानाको नेतृत्वमा रोकिएको थियो ।

प्रहरीले केहीबेर अघि कांग्रेस नेता ढुंगानासहितका ११ जना व्यक्तिलाई नियन्त्रणमा लिएको स्थानीय हरिहर ढुंगानाले जानकारी दिनुभएको छ । यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलसहितको टोली सिसडोल र बञ्चरेडाँडामा पुगेको दिननै कांग्रेस नेता ढुंगानाले फोहोर व्यवस्थापनमा अबरोध गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले आफू पनि यही ठाउँमा जन्मिएको मान्छे भएकाले फोहर व्यवस्थापनका बारेमा मागहरू राख्न पाउने भन्दै भाषण समेत गर्नुभएको छ । ढुंगानाले तीनपिप्लेदेखि बञ्चरेडाँडासम्म सडकमा परेको जग्गाको पनि मुअब्जा पाउनुपर्ने नयाँ माग थपिएको र त्यसो नहुँदासम्म आफू एक्लैले भए पनि फोहोर रोक्ने घोषणा गर्नुभएको थियो ।