काठमाडौं,२७ जेठ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोशित बन्नुभएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको जिज्ञसाको जवाफ दिने क्रममा नेता खनालले यस्तो आक्रोश पोख्नुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णयमा अवरोध गरेको भन्दै आक्रोशित बन्नुभएको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री फेर्ने निर्णय प्रधानमन्त्री देउवालाई बुझाइसकेको तर कार्यान्वयन हुन नसकेकोमा खनाल रुष्ट बन्नुभएको हो । उहाँले तत्काल आफ्नो पार्टीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई थप दबाब दिनुभयो ।

आफ्नो पार्टीले मन्त्रीहरुलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले तुरुन्त कार्यान्वयन गर्नुको विकल्प छैन,’ खनालले भन्नुभयो, ‘मैले धेरै पटक यसको जवाफ दिइसकेँ–यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ । नेकपा एकीकृत समाजवादीले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरु कुनै विकल्प छैन ।’