काठमाडौं,३१ जेठ । नेकपा एमालेले वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिने भएको छ ।

ललिपुरकाे च्यासलस्थि पार्टी केन्द्रीय कार्यालय मा सोमबार बसेको सचिवालय बैठकले जनप्रतिनिधिका लागि असार २ र ३ गते अभिमुखीकरण आयोजना गर्ने निर्णय गरेकाे उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार पार्टीबाट निर्वाचित प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षलाई असार २ र ३ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएकाे हाे । सचिवालय बैठकले साे प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको खाका तयार पारेकाे पनि उहाँले बताउनुभयाे ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा समृद्धिका आधारशिला कसरी तलैबाट तयार गर्ने, समाजवादको आधार कसरी तयार गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा कसरी योगदान गर्ने भन्ने विषय तथा समग्र राष्ट्रिय राजनीतिबारे जनप्रतिनिधिलाई प्रशिक्षण दिइनेछ । प्रशिक्षणमा एमालेबाट जितेका २ सय ५ जना प्रमुख तथा अध्यक्ष र २ सय ४० उपप्रमुख तथा उपाध्यक्ष सहभागी हुनेछन् ।