काठमाडाैं,३१ जेठ । नेकपा एमालेले स्थानीय तह चुनावका विषयमा पार्टीमा गम्भीर समीक्षा गर्ने निर्णय गरेकाे छ ।
ललितपुरकाे च्यासलस्थित केन्द्रीय कार्यालयमा साेमबार बसेका एमाले सचिवालय बैठकले वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा पार्टीकाे अवस्थाबारे गम्भीर समीक्षा हुने निर्णय गरेकाे हाे । स्थानीय तह चुनावकाे परिणामलाई २ तरिकाले विश्लेषण गरिएकाे बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।
चुनाव जनमत तलमाथि नभए पनि गठबन्धन, सत्ताको दुरुपयोग र कतिपय ठाउँमा आन्तरिक कमजोरीका कारण सिटमा केही क्षति भएको उहाँले बताउनुभयाे । जित-हारलाई पार्टीले स्वभाविक रुपमा लिएकाे भन्दै उहाँले कैयाैं ठाउँमा स्वच्छ,मर्यादित र निष्पक्ष हुन नसकेकाे बताउनुभयाे ।
'चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मान्यताबाट दिशानिर्देशित भएर सत्ता गठबन्धनकाे तर्फबाट राज्य सत्ताकाे दुरुपयाेग भयाे, अनाहकमा चार जनाकाे ज्यान गयाे, ठाउँठाउँमा लाेकतन्त्रलाई मजाक बनाउने खालका गतिविधि भए,प्रक्रियामा देखा परेकाे यी विकृतिप्रति हाम्राे चिन्ता'-ज्ञवालीकाे भनाइ छ । सरकारले चुनावकाे स्वच्छता,पवित्रतालाई दुषित बनाउने सरकारकाे कदमबारे चिन्तन व्यक्त गरिएकाे उहाँले बताउनुभयाे ।
उपमहासचिव ज्ञवालीले हरेक हिसाबल ३४ प्रतिशत पपुलर मतसहित सबैभन्दा अगाडि आएकाे तथ्य स्थापित भएकाे उहाँकाे भनाइ छ । 'यावत घेराबन्दी र सत्ताको दुरुपयोगका बाबजुद ३४ लाख मत सहित एमाले प्रमुख शक्ति बनेको हो भन्ने स्थापित भएको छ, यसप्रति हामी गर्व गर्छौं, यति धेरै घेराबन्दीबच पनि एमालेलाई मत दिने सबै मतादाताप्रति आभारी छाैं'-ज्ञवालीले भन्नुभयाे ।
सत्ता गठबन्धनका बाबजुत पनि एमाले एक्लैले ३४ प्रतिशत लोकप्रिय मत हासिल गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयाे । प्रमुखमा एमालेले पाएकाे परिणाम अपेक्षा अनुरुप नभएकाे भन्दै उहाँले यसबारे गम्भीर समीक्षा गरिएकाे र यसका बाह्य र आन्तरिक कारण रहेका बताउनुभयाे । 'समयमै उम्मेदवार चयन गर्न नसक्दा, अकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा, निर्वाचन परिचालनमा आवश्यक पर्ने कुशलता देखाउन नसक्दा, केही हाम्रा आन्तरिक कारणले वाञ्छित सफलता हासिल गर्न सकेनाैं, त्यसकाे हामी गम्भीर समीक्षामा गर्छाैं ।'
प्रमाणित तथ्य र पार्टीलाई हराएको पुष्टि हुनेलाई सम्बन्धित कमिटीले कारबाही गर्ने जानकारी दिँदै उहाँले पार्टीले कुन चाहिँ घात अन्तर्घात, कुन चाहिँ असमझदारी हो भनेर छुट्याउने र साेही अनुसार गलत प्रवृत्तिबाट मुक्त गराउन अगाडिकाे बाटाेमा केन्द्रित हुने बताउनुभयाे ।
पार्टीकाे प्रतिष्ठालाई कमजाेर बनाउने,पार्टीकाे विजयमाथि शंका उत्पन्न हुने, मूल नेतृत्वप्रतिअनास्था फैलाउने गतिविधि नगर्न सचिवालय बैठकले सचेत गराएकाे उहाँले बताउनुभयाे ।
ज्ञवालीले २०६४ सालदेखिको चुनावको मत हेर्दा एमाले र कांग्रेस मुख्य शक्ति रहेको र ०७४ सालपछि पपुलर मतमा एमाले नै पहिलो शक्तिका रूपमा स्थापित भएकाे उहाँकाे भनाइ छ । अब मंसिरमा हुने चुनावका लागि पार्टी केन्द्रित हुने बताउनुभयाे ।



















