विराटनगर ,३१ जेठ । जिल्ला समन्वय समिति मोरङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । मंगलबार

भएकाे चुनावमा एमालेका अजम्बर राई २१ मत पाएर जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित हुनुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतेन्द्र अग्रवालले १३ मत मात्र ल्याउनुभएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

उप्रमुखमा पनि एमालेकै उषा झा ठाकुर २१ मत ल्याएर निर्वाचित हुनुभयाे । उहाँकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निलमकुमारी सरदारले १३ मत मात्र पाउनुभयाे ।

महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्वसीकुमारी थारु र हरिमायाँ विश्वकर्मा निर्वाचित हुनुभयाे । खुला सदस्यमा पनि एमालेका तुलसीप्रसाद घिमिरे, देवमणी कटुवाल र मित्रप्रसाद ढकाल निर्वाचित हुनुभयाे ।

सो निर्वाचनमा गठबन्धनका मेयर उपमेयरले नै क्रस मतदान गरेका छन् । नेकपा एमालेको २१ मत र गठबन्धनको १३ मत भएको मोरङमा सदस्यहरुको मत तलमाथि भए पछि मत क्रस भएको हो । एमालेका उम्मेदवारले २१ र गठबन्धनका उम्मेदवारले १३ मत ल्याउनुपर्नेमा एमालेबाट विजयी बनेका तीन जना सदस्यले आफ्नो मतभन्दा बढी ल्याएका छन् ।

निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेकी दलित महिला सदस्य उमा नेपालीले २३ मत ल्याउनुभएकाे छ । उहाँकी प्रतिस्पर्धि गठबन्धनकी गिता विश्वकर्माले ११ मत मात्र ल्याउनुभएकाे छ । यहाँ गठबन्धनका दुई जनाले मत क्रस गरेका छन् । त्यस्तै सदस्यमा एमालेका तुलसी प्रसाद घिमिरे र मित्रप्रसाद ढकालले २२/२२ मत ल्याउनुभएकाे छ ।

IMG_20220614_135155