काठमाडौं ८ असार । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले इन्धनमा गरिएको मूल्यवृद्धिले सबैतिर महँगी बढ्ने बताएका छन् । अचाक्ली महँगीले जनता मर्कामा पर्ने उनले बताएका छन् ।
आज (बुधबार) बिहान ट्वीट गर्दै उनले मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिइनु विडम्बनापूर्ण भएको पनि बताएका छन् । राजनीतिक दल र नेता सत्ता र गठबन्धनको अंक गणितमा लिप्त रहेको उनको भनाइ छ । डा. भट्टराईले मूल्यवृद्धि नियन्त्रणमा सरकारी पहल आवश्यक रहेको औंल्याएका छन् ।
पछिल्लो समय नेपालमा महँगी धान्नै नसक्ने गरी बढिरहेको सर्वसाधरणले गुनासो गरिरहेका छन् । संसदमा पनि दिनहुँजसो महँगी नियन्त्रणका लागि सरकारले पहल गर्नुपर्ने सांसदहरुले माग गर्दै आएका छन् । सरकारले भने नेपालमा महँगी बढ्नुमा विश्व अर्थतन्त्रको प्रभाव भएको बताउँदै आएको छ । तर, महँगी नियन्त्रणका उपायको खोजीमा सरकार लागेको देखिंदैन ।



















