ओखलढुंगा,२८ साउन । नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले कांग्रेसको नेतृत्वमा समाजवादमा पुग्न नसकिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गौतमले कांग्रेस नेतृत्वले देशलाई समृद्धि तर्फ लैजान नसक्ने बताउनुभयो । कांग्रेस नेतृत्वको गठबन्धन सरकाले देशलाई दुर्गतिको बाटोमा धकेलेको उहाँको भनाइ छ ।

यस्तो अवस्थामा बाम शक्ति एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अझै पनि आउने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धन हुने सम्भावना टरिनसकेको उहाँले बताउनुभयो । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले काग्रेससँगको गठबन्धन तोडेर आए बाम तालमेल हुनसक्ने उहाँको धारणा छ ।

एमाले माओवादीसँग चुनावी तालमेल गर्न तयार रहेको भए पनि माओवादी आफै दक्षिणपन्थीको जालमा फसेको उहाँले बताउनुभयो । माओवादी आफ्नो बारेमा आफै निर्णय गर्न सक्ने अवस्थामा नरहेको उहाँको भनाइ छ ।

कांग्रेस गठबन्धनबाट बहुमत आफ्नो पक्षमा पार्ने गरी सिट बाँडफाँड गर्ने रणनीतिमा रहेको उहाँले बताउनुभयो । आफ्नो पक्षमा बहुमत नआउने अवस्था बने कांग्रेसले कम्युनिष्टलाई बाहिर राखेर जसपा, लोसपा लगायतका पार्टीसँग तालमेल गरेर सरकार बनाउने उहाँको बुझाइ छ ।

आउने निर्वाचनमा एमालेलाई जित्नै पर्ने दबाब रहेको पनि उहाँले बताउनुभयो । कोही तालमेल गर्न आए तालमेल गरेर र नभए एक्लै भए पनि चुनावमा गएर एमालेले विजय प्राप्त गर्नै पर्ने उहाँले टिप्पणी गर्नुभयो । एमालेको जीत र हारसँग देशको जीत र हार जोडिएको उहाँले बताउनुभयो ।

एमालेलेले सकेसम्म प्रगतिशील, लोकतान्त्रिक र देशभक्त राजनीतिक दलसँग मिलेर जाने प्रयास गर्ने उहाँले बताउनुभयो । यसमा सहकार्यको लागि पनि गौतमले दलहरूलाई आग्रह गर्नुभयो ।