काठमाडौं,३० साउन । कांग्रेसनिकट युवा संगठन तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ। संसदबाट पास भएर सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पुगेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी फिर्ता पठाएकोप्रति नेपाल तरुण दलले विज्ञप्ति मार्फत आपत्ति जनाएको छ ।

विधेयकमा अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरणविना प्रतिनिधि सभामा फिर्ता पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष विद्वान गुरूङले जारी गरेको मा उल्लेख छ।

‘नागरिकताविहीन नेपाली जनतामाथिको यो अपमान घोर निन्दा र भर्त्सना गर्दछ,’ अध्यक्ष गुरूङले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनेर राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्यूतसमेत गर्न संसद र सरकारसँग तरूण दल केन्द्रीय समिति आग्रह गर्दछ।’