प्युठान,३० साउन । नेकपा (एमाले) का उपाध्यक्ष सुुवास नेम्वाङले नेपाली काँग्रेससँग टाँसिएर गठबन्धन गरिरहेका कम्युनिष्ट नामधारी दलहरू कम्युनिष्ट विचारधाराबाट विचलित भएको बताउनुभएको छ ।
आफ्नै पार्टीको बहुमत सरकार ढालेर विपक्षी दलको काँध थाप्नुले उनीहरू नैतिकरूपमा कम्युनिष्ट राजनीतिबाट पराजित भएको विचार व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) प्युठानद्वारा सोमबार आयोजित जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा उहाँले यस्तो बताउनुभएको हो ।
उपाध्यक्ष नेम्वाङले नेकपा (एमाले) बाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी बनाए पनि फुटको औचित्य पुष्टि गर्न नसकेको भनाई राख्नुभयो ।
उपाध्यक्ष नेम्वाङले भन्नुभयो– ‘विपक्षीसँग गठबन्धन गरी २० प्रतिशत लिएर पार्टी फुटाएका कमरेडले स्थानीय तहको निर्वाचनमा अर्काको सहयोगमा चारप्रतिशत मत ल्याउँदा पनि कमजोरी महसुस नगर्ने ?’
प्रशिक्षण कार्यक्रममा नेम्वाङ सहित पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज बिमला घिमिरे, पोलिटव्यूरो सदस्य तथा प्युठान इन्चार्ज सूर्य थापा, अनुशासन आयोग सदस्य झपेन्द्र जिसी लगायतले प्रशिक्षण दिनुभएको थियो ।



















