काठमाडौं,२  पुस  । नेकपा एमालेबिरुद्ध गठबन्धन बनाएका सत्तारुढ गठबन्धनका दुई नेता प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनः सत्ता प्राप्तीका लागि एमालेकै नाममा बार्गेनिङ गरिरहेको तथ्य खुलेको छ ।

निर्वाचनमा गठबन्धनको स्पष्ट बहुमत नआएपछि पहिलो पालोमै प्रधानमन्त्री आफू बन्न दुवै नेताले एमाले कार्ड देखाउँदै बार्गेनिङ गर्न थाल्नुभएको हो । नेकपा एमालेले जनमतअनुसार आफूहरु सरकार गठनको खेलमा नलाग्ने बताएपछि बार्गेनिङ झनै मौलाएको हो । पहिलो पालोमा प्रधानमन्त्री बन्न चाहनु भएका देउवा र प्रचण्डले हरेक पटकको छलफलमा एमालेलाई देखाएर एकअर्कालाई गलाउन खोजेको दुवै दलका नेताहरुले बताएका छन ।

देउवाले सहजै प्रधानमन्त्री पद नछाड्ने देखेपछि माओवादी नेताहरुले एमाले नेताहरुसँग निरन्तर सम्वाद गरिरहेका छन् । एमाले नेताहरुँगको संवादलाई माओवादी नेताहरुले प्रचण्डलाई समर्थन गर्न एमाले तयार रहेको सन्देश दिने गरेका हुन ।

काउन्टरमा कांग्रेस नेताहरुले पनि एमालेसँग सम्वाद थालेका छन् । उनीहरुका अनुसार एमाले नेताहरुले कांग्रेसलाई एक्लै सरकार बनाए फ्लोरबाट समर्थन गर्ने सन्देश दिइरहेका छन् । देउवाले ‘हाम्रो ७८ थपिदिनासाथ १६७ हुन्छ । ढुक्कले दुई वर्ष सरकार चलाउनुस् भन्ने एमालेबाट आइरहेको छ’ भन्दै माओवादीलाई तर्साउने गरिरहेका छन ।

अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभा (संसद) बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादमा पनि देउवा र प्रचण्डले एमाले कार्ड प्रयोग गरेर एकाअर्कालाई गलाउने प्रयास गर्नुभएको थियो । माओवादी नेतृत्व एमसीसी अनुमोदन नगर्ने पक्षमा उभिएपछि प्रधानमन्त्री देउवा, कांग्रेसका पदाधिकारीहरुलाई लिएर निरन्तर बालकोट पुगेर वार्ता गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि पार्टी पदाधिकारीहरुसहित एमाले अध्यक्ष ओलीलाई भेटेर सहकार्यको प्रस्ताव राखेका थिए । तर ओली एमसीसी रोक्ने पक्षमा नदेखिएपछि प्रचण्ड गले र १२ बुँदे व्याख्यात्मक घोषणा गर्दै अमेरिकी सहयोग परियोजना संसदबाट अनुमोदन भएको थियो ।

कांग्रेसकै अर्का एक नेताका अनुसार देउवाले अहिले पनि प्रचण्डलाई प्रधानमन्त्री छाड्न तयार देखिएका छैनन् । किनकी प्रचण्डलाई प्रधानमन्त्रीमा पालो दिँदा प्रधानमन्त्रीका लागि दुई/साढे २ वर्ष कुर्ने वा राष्ट्रपति बन्ने विकल्प रहन्छ । राष्ट्र प्रमुख भएर शीतल निवास जाँदा प्रधानमन्त्री र राष्ट्रपति दुबै पदमा पुग्ने नेपालकै पहिलो नेता त बन्ने छन्, तर उनले पत्नी आरजु देउवालाई पार्टी राजनीतिमा स्थापित गर्ने अभियानमा ब्रेक लाग्ने छ । जनता टाइम्सबाट