काठमाडौँ,२३ असार । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनैपनि पार्टीसँग मिले पनि निर्वाचन जित्न नसक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अहिले कांग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनै पनि नयाँ पार्टीहरूबाट डराउनु नपर्ने बताएका हुन् ।
‘हामी जुन-जुन सरकारमा छौँ, ती सरकारमा सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा छन्, जनतालाई डेलिभर गर्न चाहन्छन् भन्ने म्यासेज हामीले दिनसक्यौँ भने २०८४ को चुनावमा कसैसँग मिल्नु पर्दैन, एक्लै चुनाव जितिन्छ । कसैसँग डराउनु पर्दैन, ८४ मा चुनाव जित्ने किन सरकारमा जान होइन, अहिले पनि हामी सरकारमा त छौँ । सरकारमा अहिले भएको बेलामा जनताका लागि काम गर्न नसके कांग्रेस विजयी नबन्ने भन्दै सरकारमा रहेका मन्त्रीहरूलाई जनताका पक्षमा काम गर्न पौडेलले आग्रह गरे ।
हामीले अहिले सरकारमा रहेका ठाउँमा जनताको निम्ति काम गरेर देखायौँ भने ८४ को चुनावमा जो जो नयाँ आएपनि हामीलाई कसैले केही गर्न सक्दैन,' उनले भने, ‘सरकार यसरी नै चलिरहने हो भने ८४ मा जो जोसँग मिले पनि हामीले चुनाव जित्न सक्दैनौँ । त्यसैले मुख्यकुरा मिसन ८४ हो भने हामीले जहाँबाट ८४ लाई मिसन बनाउनुपर्ने हो त्यहाँबाट बनाऔँ ।’
नेता पौडेलले रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा सामाजिक सञ्जालमा नराम्रो नलेख्नसमेत कार्यकर्तालाई आग्रह गरे । पार्टी र पार्टीका नेताका बारेमा राम्रो लेख्नुपर्ने उनको भनाइ थियो ।


