मधुमल्ला, ३१ साउन । नेपाली काँग्रेस मोरङका जिल्ला सदस्य गोपाल बस्नेतसहित विभिन्न पार्टी परित्याग गरी २१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार एमाले मिक्लाजुङले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् ।

एमाले पार्टी प्रवेश गर्नेहरुमा पूर्व क्षेत्रीय सचिव तिलबिक्रम बोहोरा, पूर्व गाउँ सभापति शेरबहादुर बस्नेत, हरिबहादुर बोहोरा, तोर्ण दाहाल, मित्रबहादुर पौडेल, टिकाराम कटुवाल, बालकृष्ण बस्नेत, बृखबहादुर बि.क.,नरबहादुर लिम्बू, उमेश दर्जी रहेका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्र परित्याग गरी धनबहादुर पौडेल, होमप्रसाद भट्टराई, नरेन्द्र सुवेदी, खगेन्द्र अधिकारी, बुद्धिमान बि.क.,अनिस सिवा, लाखमान कोइराला र डम्बर मोहरा तथा राप्रपा परित्याग गरी देवेन्द्र निरौला लगायत रहेका छन् ।

सो अवसरमा काँग्रेस जिल्ला सदस्य परित्याग गरी एमाले प्रवेश गरेका गोपाल बस्नेतले नेपाली काँग्रेसले प्रजातान्त्रिक पार्टी भएको दाबी गरे पनि त्यस्तो वातावरण नेपाली कांग्रेसमा नभएको बताए । नेपाली कांग्रेसमा यो देशलाई समृद्धितर्फ लैजाने कुनै एजेण्डा समेत नभएको र नेपाली जनतालाई समृद्ध नेपाल सुखी नेपाली बनाउने एजेण्डा केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेसँग मात्र भएकाले आफू एमाले प्रवेश गरेको बस्नेतले बताए ।

नव प्रवेशीलाई नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोख्रेल जिल्ला सचिव रुपेश खतिवडा लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले नेपाल मात्र यस्तो देश हो जहाँ सरकार पक्ष प्रतिपक्षलाई हराउन लागि परेको बताए । एक्ला एक्लै हराउन नसक्ने भएपछि गठबन्धनको पगरी गुथेको पोख्रेलले बताए । नव प्रवेशीहरुलाई योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिने पोख्रेलले बताए ।

नव प्रवेसीहरु तिलबिक्रम बोहोरा र शेरबहादुर बस्नेतले नेपाली कांग्रेसमा इमान्दार कार्यकर्ताहरुको उचित मूल्याङ्कन नभएकोले आफ्नो उर्जावान् समय नेपाली कांग्रेसमा बिताएको पश्चाताप गर्दै त्यहाँ सिकेको ज्ञान र अनुभवलाई अब नेकपा एमालेमा प्रयोग गर्ने बताए ।

सुन्दरहरैंचामा नेकपा एकीकृत समाजवादी परित्यागगरी एमालेमा प्रवेश
त्यसैगरि आजै नेकपा एकीकृत समाजवादी सुन्दरहरैंचा १२ नम्बर वडा कमिटीका सचिव इश्वोर ओझा पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशी ओझालाई एमाले प्रदेश कमिटी सदस्य तथा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाँई प्रदेश कमिटी सदस्य शुरेन्द्रबहादुर थापा पार्टी केन्द्रिय विभाग सदस्य बद्रि अर्याल, जिल्ला कमिटी सदस्य रोशनप्रसाद ढकाल लगायतले स्वागत गरेका थिए ।




















