काठमाडौं,१ भदौ । जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री हेमराज राई कार्यकर्तासहित १० वर्षपछि फेरि नेकपा एमालेमै फर्किनु भएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट दुई साताअघि राजीनामा दिएका राई आफ्नो सवै टीमसहित आज एमालेमा प्रवेश गर्नुभएको हो ।
नवप्रवेसी नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा खादा लगाएर स्वागत गर्नुभयो । राईसहित जसपा केन्द्रीय सदस्यहरु शान्तकुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा, शंकर बी सार्की पार्टी प्रवेश गर्नुभएको हो ।
त्यस्तै, १० जना संघीय परिषद् सदस्य, १९ जना प्रदेश समिति पदाधिकारी तथा सदस्य, ११ जना जनसंगठन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, ४५ जना जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरु एमाले प्रवेश गर्नुभएको छ । राई भोजपुरका पुराना कम्युनिष्ट नेता हुनुहुन्छ । जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले बेग्लाबेग्लै बैठक बसेर कारबाहीको शृङ्खला अघि बढाउन थालेपछि हेमराजले राजीनामा दिनुभएको थियो ।
उहाँले गत साउन ९ गते जसपाबाट राजीनामा बुझाउनु भएको थियो । २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा राई उद्योग मन्त्री हुनुहुन्थ्यो । नेकपा (एमाले)मा रहेर लामो समय राजनीति गर्नुभएका राई ०६९ साल असोज १८ गते अशोक राईसँगै संघीय समाजवादी पार्टीमा लाग्नुभएको थियो । उहाँ १० बर्षपछि पनः एमालेमा फर्कनु भएको हो ।



















