काठमाडौं, ४ भदौ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले ल्याएको दाबी गर्नुभयो । उहाँले माधवकुमार नेपालको पालाबाट क्रमशः झलनाथ खनाल, डा.बाबुराम भट्टराई र प्ष्पकमल दाहाल हुँदै अहिले शेरबहादर देउवा नेतृत्वको सरकारमा सम्झौता स्वीकृत भएको बताउनु भयो । उहाँले नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत परराष्ट्रमन्त्री हुँदा चीनको बीआरआई सम्झौतामा हस्ताक्षर भएको पनि बताउनु भयो ।

उहाँले एसपीपीले प्रकारान्तमा नेपाललाई अफ्ठ्यारो पार्ने भएकोले खारेज गरेको बताउनु भयो । महामन्त्री थापाले केही समयअघि मात्रै परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाँदा चीन नीतिमा प्रतिवद्ध रहेको बताउनुभएको भन्दै नेपाली काँग्रेस एक चीन नीतिमा अडिग रहने स्पष्ट पार्नुभयो ।

महामन्त्री थापाले आगामी निर्वाचन जितेपछि सरकारले के गर्छ भन्ने योजना बनाउन अपरिहार्य रहेको बताउनु भयो । उहाँले पूर्व प्रधानमन्त्री वा सरकारले काम गर्न सकेन भनेर अबपनि काम नगर्ने छुट नरहेको बताउनु भयो । नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रिय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।