काठमाडौं,४ भदौ । नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका दुई दर्जन बढी युवा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। काठमाडौंको बुढानीलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी परित्याग गरेका २७ युवालाई पार्टीमा प्रवेश गराएका हुन्।
प्रवेश गर्नेमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३, ४ र ५ का युवाहरू रहेका छन्। उनीहरू नेपाली काँग्रेस र एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका हुन्। नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरूलाई एमालेले सधैँ प्राथमिकतामा दिएको बताए।
एमालेले युवाहरूलाई साथमा लिएर ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न चाहेको उनको भनाइ थियो। एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आजै बुढानीलकण्ठ नगरपालिका ७ मा मतदाता र अगुवा कार्यकर्ताले आयोजना गरेको छलफलमा पनि सहभागी भएका छन्।



















