काठमाडौं,४ भदौ  । सत्ता गठबन्धनका दल मङ्सिर ४ मा हुने निर्वाचनमा गठबन्धनबाट जाने तयारीका साथ केन्द्रमा सिट भागबण्डाको रस्साकस्सीमा लागि रहँदा जिल्ला जिल्लामा भने विग्रह सुरु भएको छ ।

गठबन्धनका दलले विभिन्न जिल्लामा गठबन्धन भित्रका दललाई बाइपास गरेर जाने निर्णय गर्न लागेका छन् । आफ्नो शक्ति बलियो भएको जिल्लामा कमजोर दललाई गठबन्धनका दलले पेल्ने र हेप्ने क्रम सुरु भएको छ ।

यसको सबैभन्दा ठुलो सिकार माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी भएको छ । माधव नेपालको पार्टीलाई जिल्ला जिल्लामा कांग्रेस र माओवादीले गठबन्धनबाट बहिष्कार गर्न सुरु गरेका छन् ।

नेपाली कांग्रेस बझाङले विज्ञप्ति नै निकाले र सो जिल्लामा एकीकृत समाजवादीसँग गठबन्धन नगर्ने जनाएको छ । कांग्रेसका सभापति खड्गबहादुर बोहराले विज्ञप्ति जारी गरी एकीकृत समाजवादीसँग प्रतिष्पर्धा गर्ने जनाउनुभएको छ । ‘माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग मित्रवत् स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

उता डोटीमा पनि नेपाली कांग्रेसले एकीकृत समाजवादीसँग गठबन्धन नगर्ने बताइसकेको छ । डोटीमा एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा प्रेम आलेले दाबी गर्नुभएको छ ।

एकीकृत समाजवादी जनमतको हिसाबले अत्यन्त कमजोर रहेको भन्दै कांग्रेस प्रतिनिधि सभा सदस्य उम्मेदवारको रूपमा प्रेम आलेलाई स्विकार्न तयार छैन । जसले गर्दा प्रेम आले र माधव नेपाल समेत तनावमा पर्नुभएको छ ।

कांग्रेसले डोटीमा एकीकृत समाजवादीलाई नस्विकारेपछि प्रेम आलेले जङ्गिँदै डोटीमा गठबन्धन नभए देश भरी गठबन्धन नहुने चेतावनी सार्वजनिक रूपमा दिइसक्नु भएको छ । यसले कांग्रेस र एकीकृत समाजवादीको सम्बन्ध चिसिँदै गएको छ ।

कांग्रेसले आफू बलियो भएको वा माओवादीसँग मात्रै मिल्दा पनि चुनाव जित्ने ठाउँमा खुल्ला रूपमा एकीकृत समाजवादीलाई बहिष्कार गर्न सुरु गरेपछि अन्यत्र पनि त्यसको प्रभाव पर्ने स्वाभाविक देखिन्छ । माओवादी र एकीकृत समाजवादी मिल्दा जित्ने ठाउँमा कांग्रेस बहिष्करणमा पर्न सक्छ अनि समाजवादी र कांग्रेस मिल्दा जितिने ठाउँमा माओवादी बहिष्करणमा पर्न निश्चित छ ।

केन्द्रमा हुने भागबण्डा पार्टी केन्द्रले जबरजस्ती लाद्न त सक्ला तर कार्यकर्ता र मतदाताले साथ नदिँदा गठबन्धनका उम्मेदवारलाई चुनाव जित्न फलामका च्युरा चपाउनु सरह हुने छ ।