नबराज पथिक
सत्ता गठबन्धनका दल प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सिट भागबण्डाको सकसमा छन् । गठबन्धन नगरी चुनावमा जान सक्ने अवस्था सत्तामा रहेका दलको छैन । गठबन्धन गरेर जाँदा सिटको भागबण्डा सहजै मिल्ने अवस्था छैन । एकातिर एमालेको डर अर्कोतिर गठबन्धन नगरी नहुने कहर, दोहोरो चपेटामा छ गठबन्धन ।
गठबन्धनका कुनै पनि दल एक्लै चुनावमा जाने मनस्थितिमा छैनन् । मिलेर जान भागबण्डा मिलाउने सहज अवस्था पनि छैन । त्यसैले गठबन्धनका दललाई सिटको भागबण्डा काम्लोमा मुछेको सातु जस्तै भएका छ, न खानु, फाल्नु ।

सिट बाँडफाँडमा सबैभन्दा अप्ठेरो नेपाली कांग्रेसलाई परेको छ । गठबन्धनका अन्य दल, माओवादी, माधव नेपालको एकीकृत समाजवादी उपेन्द्र यादवको समाजवादी कांग्रेसबाट धेरै भन्दा धेरै सिट छिन्न चाहन्छ । अन्य राजनीतिक दल सिट लिने र खाने ठाउँमा छन् । नेपाली कांग्रेस सिट बाँड्ने र खोसिने ठाउँमा छ ।
कांग्रेस आफूलाई धेरै भन्दा धेरै सिट जोगाउन चाहन्छ । अन्य दल कांग्रेसबाट धेरै भन्दा धेरै सिट खोस्न चाहन्छ । खोस्ने र जोगाउने चक्रब्युहमा गठबन्धन फसेको छ ।
गठबन्धनका दलले त देउवाको टाउको दुखाएकै छन् । त्यो भन्दा बढी टाउको दुखाई देउवालाई आफ्नै पार्टी भित्रबाट भएको छ । नेपाली कांग्रेस भित्र शेखर कोइराला पक्षले देउवा पक्षका विरुद्ध सशक्त दबाब सिर्जना गरेको छ ।
कोइराला पक्षले देउवा एकलौटी रूपमा चलेको भन्दै उहाँको विरुद्ध विद्रोह गर्ने चेतावनी सार्वजनिक रूपमा दिएको छ । समानुपातिक तर्फका उम्मेदवार छान्दा आफूहरूसँग कुनै सल्लाह नगरेको तथा प्रत्यक्ष तर्फ पनि एकलौटी गर्न खोजेको भन्दै देउवासँग कोइराला पक्ष रुष्ट बनेको छ ।
कोइराला पक्ष बोलेको मात्र छैन संस्थापन पक्ष विरुद्ध व्यवहारमा नै उत्रिएको छ । कोइराला पक्षले आफ्नो पक्षको राष्ट्रिय भेला नै गरेर आफूहरूलाई पेलेर गए विद्रोह गर्ने चेतावनी दिएको छ ।
त्यति मात्रै होइन कांग्रेसको टिकट प्रचण्ड र माओवादीले बाँड्न खोजेको भन्दै कोइराला पक्षले कडा आलोचना गरेको छ । गठबन्धनको नाममा देउवा पक्ष प्रचण्ड र माधव नेपालसँग लम्पसार परेको कोइराला पक्षको आरोप छ । कोइराला पक्ष देउवाको विरुद्ध खुलेरै लागेको छ । खुलेरै विरोधमा उत्रिएको छ । उसले भनेजस्तै विद्रोह गर्यो भने कांग्रेस चकनाचुर हुने छ ।
कोइराला पक्षले देउवालाई लगातार चुनौती दिन सुरु गरेको छ । पहिला आफ्नो पक्षको राष्ट्रिय भेला गर्यो । त्यसका लगत्तै बिहीबार दशैँको अवसरमा छुट्टै चियापान कार्यक्रमको आयोजना गर्यो । त्यतिले मात्र कोइराला पक्षले सन्तोष मानेन पार्टी कार्यालयमा ब्यानर राखेर खबरदारी गर्यो । एक पछि अर्को गतिविधि र आफ्नो पक्षमा पार्टीको मत बटुल्न कोइराला उद्धत हुनुहुन्छ ।
कांग्रेस भित्र शेखर कोइराला पक्षलाई पेलेरै लैजान सकिन्छ भन्ने सोच देउवाको थियो । त्यही सोच उहाँका लागि प्रत्युत्पादक बन्यो । कोइराला पक्षलाई मिलाएर लैजानुको सट्टा पेलेर जान खोज्दा देउवा भुमरीमा फस्नु भएको छ । शेखर पक्षलाई मिचेरै अघि बढ्न खोज्दा शेरबहादुर देउवा समस्यामा पर्नु भएको छ ।
कोइरालाको सामु बिहीबार देउवा केही गलेको जस्तो देखिनुभएको छ । समानुपातिक सूची संशोधन गरी कोइरालाका केही मानिसलाई पनि सो सूचीमा समावेश गर्ने सहमति बिहीबारको बैठकमा देउवा पक्षले गरेको छ । तर कोइराला पक्ष ४० प्रतिशतबाट एक सिट र एक जना पनि तलमाथि नगर्ने अडानमा छ ।
देउवा गठबन्धनको दबाबमा पहिलेदेखि नै हुनुहुन्थ्यो । अब आफ्नै पार्टी भित्र कोइराला पक्षको दबाबमा पनि पर्नुभएको छ । यति मात्रै होइन उहाँ आफ्नै पक्षको दबाबमा पनि पर्ने निश्चित छ । किनकि कोइरालालाई ४० प्रतिशत सिट सङ्ख्या दिने बित्तिकै देउवाले बाँकी रहेका सिटमा आफ्ना मान्छेलाई व्यवस्थापन गर्न सक्नु हुन्न । आफू उम्मेदवार बन्न नपाए पछि देउवाको आफ्नै पक्षका कांग्रेस नेताले विद्रोह गर्ने छन् र कांग्रेस भित्र अर्को भाँडभैलो सुरु हुने छ ।
कांग्रेसको केन्द्रमा मात्र होइन जिल्ला जिल्लामा पनि विद्रोह सुरु भएको छ । जिल्लाको भावना विपरीत केन्द्रबाट जबरजस्ती गठबन्धन लादे विद्रोह गर्ने भन्दै जिल्ला जिल्लामा भएका औपचारिक निर्णय सार्वजनिक भइरहेका छन् । यसले गठबन्धनलाई टिकाइ राख्न र टिकाए पनि गठबन्धनका पक्षमा मत झार्न त्यति सजिलो छैन ।
गठबन्धनमा भागबण्डा टुङ्ग्याउन जति किचलो बढेको छ । त्यति नै किचलो कांग्रेस पार्टीको आन्तरिक राजनीतिमा बढ्दै गएको छ । यसले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई झन् झन् अप्ठेरो पार्दै गएको छ ।



















