पथरी,१५ असोज । नेकपा एमालेको मोरङ जिल्ला कमिटी सदस्य समेत रहेकी पथरी शनिश्चरे नगरपालिकाकी पूर्व उपमेयर यमुना विष्टले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । उनले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनले स्ट्याटसमा लेखेकी छिन ‘अब धेरै भयो मेरो इमान निष्ठा सबै भन्दा ठुलो हो आजबाट नै पार्टीबाट बिदा हुने निर्णय गरेँ।’

टिकट वितरणमा असन्तुष्ट भएर पार्टी परित्याग गरेको हुनसक्ने एमालेका नेताहरूको भनाइ रहेको छ । स्थानीय तहको निर्वाचनमा दोहरिने इच्छा राखेपनि टिकट नपाएपछि उनी रुष्ट बनेकी थिइन् । पछिल्लो समय उनले प्रदेशसभामा  उठ्ने इच्छा राखेकी थिइन् । प्रदेशसभामा पनि टिकट नपाउने सम्भावना बढेपछि विष्टले पार्टी परित्याग गरेको हुन सक्ने नेताहरू बताउँछन् ।

तर उपमेयर हुनु भन्दा राजनितीमा चर्चामा नआएकी बिष्टलाई एमालेले राम्रो अवसर दिएको थियो । चुनावको मुखैमा उनको यस्तो निर्णयले गलत मान्छेलाई उपप्रमुख र पार्टीको नेता बनाएको भन्दै स्थानिय नेता कार्यकर्ताहरुले  उनको आलोचना गर्न थालेका छन् ।