काठमाडौँ,१५ असोज । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि टिकट वितरणको विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि चर्किएको छ । समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचीमा आफूलाई १० प्रतिशत पनि भाग नदिएको गुनासोसहित संस्थापनइतर पक्षले शनिबार काठमाडौंमा भेला नै गरेर पार्टी नेतृत्व र सत्ता गठबन्धनको चर्को विरोध गर्यो । संस्थापन पक्षले नियतवश इतर खेमालाई पाखा लगाउन खोजेको र यो रवैया नसुध्रिए देशैभरि कांग्रेसका उम्मेदवार उठाएर गठबन्धनविरुद्ध विद्रोहमा उत्रनेसम्मको चेतावनी यस खेमाले दिएको छ ।
यस खेमाका अगुवा नेता गगन थापा हुन् । गगन खेमाको धुरीमा शेखर कोइराला छन् । तर यतिखेर गगनको भूमिका दोहोरो चरित्रको छ । उनले शेखर कोइरालालाई देउवाविरुद्ध उचाल्नुसम्म उचाल्ने र भित्रभित्रै देउवासँगै एक्लै मोलमोलाइ गरी लाभ सुरक्षित गर्ने नीति लिएका छन् । शनिबारको भेलामा पनि गगनको यही चरित्र प्रदर्शित भयो ।
शनिबारको असन्तुष्ट भेलामा गगन थिएनन् । हुन त शेखर कोइराला पनि थिएनन् । तर उक्त भेला शेखर पक्षको भनेर गगनले नै हल्ला पिटाए । शेखरलाई उक्त भेला आफूपक्षधर हो भन्न पनि कुनै संकोच छैन । तर गगन खुलेर यो कुरा भन्न सक्दैनन् । बरु उनले शेखर र आफ्ना पक्षका नेता–कार्यकर्तालाई सभापति शेरबहादुर देउवा र उनी पक्षधर खेमाको चर्को विरोध गर्न लगाउने र भित्रभित्रै तिनै देउवाको साथ र सहयोग लिएर आफू मात्र चुनाव जित्ने रणनीति लिएका छन् । आफ्नो खेमाबाट आफू मात्र सर्वसम्मत नेताका रुपमा अघि बढ्ने र बाँकी सबै प्रभावशाली एवं प्रतिस्पर्धी नेतालाई अहिलेदेखि नै पाखा लगाउँदै जाने उनको दाउ छ । इतर खेमाका प्रभावशाली नेतालाई पाखा लगाउने जिम्मा गगनले लिएपछि देउवालाई पनि हाइसन्चो भएको छ । कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाएसरहको राहत देउवालाई भएको छ । यहीकारण पनि देउवाले गगनमाथि राम्रै लगानी गरिरहेको बुझिएको छ ।
असोज ३ गते कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीमा आफ्नो भाग कम भएको गुनासो शेखर कोइराला पक्षधर समूहले गरिरहेको छ । पार्टीभित्रको ठूलो पंक्तिलाई नियतवश पाखा लगाउन खोजेको र अन्य दलसँग असंगत रुपमा लेनदेन गरेको भन्दै भेलामा उपस्थित नेता कार्यकर्ताले संस्थापन खेमाप्रति रोष पनि प्रकट गरे । तर यस खेमाका प्रभावशाली नेता–कार्यकर्तालाई पाखा लगाएर आफू मात्र संस्थापनको सहयोग लिएर जित्ने दाउमा रहेका गगनको दोहोरो चरित्रबारे भने सबै अनभिज्ञजस्तै देखिन्थे ।
समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्दा सभापति शेरबहादुर देउवाले पार्टीमा कुनै छलफल नगरेको र संस्थागत प्रमाणी छलेर स्वेच्छाचारी तवरले चल्न खोजेको पनि यस समूहको आरोप थियो । समानुपातिकको बन्दसूचीमा राखिएका कतिपय नाम पार्टीकै नेता कार्यकर्ताले नै नचिनेको उनीहरुको भनाइ थियो । देउवाले नै पार्टीमा ४० प्रतिशत भागबण्डाको परम्परा प्रतिपादन गरेकाले अहिले त्यो भुल्न नहुने नेताहरुको धारणा थियो । तर इतर खेमाका पक्षबाट गगन एक्लैले देउवासँग मन्त्रणा गरी भित्रभित्रै समानुपातिकको बन्दसूची तय गर्न भूमिका खेलेका थिए । त्यसैले अब गगन ४० प्रतिशत भागबन्डा होइन, केवल एकजना आफू मात्र जिते पुग्ने भनेर देउवा दम्पतीसँग हारगुहार गरिरहेका छन् ।
पार्टीभित्र न्यायोचित अवसरका लागि शेखर कोइराला पक्षधर पदाधिकारी र नेताहरुलाई खुट्टा नकमाउन आग्रह गर्दै धेरै नेता–कार्यकर्ताले कुनै हालतमा अन्याय नसहने अडान सार्वजनिक गरेका छन् । कांग्रेसलाई अन्याय नहुने गरी गठबन्धन गरे देशभर उम्मेदवारी दिन पनि तयार हुनुपर्ने यस खेमाले आफ्नो नेतृत्वलाई भनेको छ । तर यस खालका विद्रोहमा आफ्नो साथ नरहने भनेर गगनले ओलीलाई वचन दिइरहेका छन् । त्यसैले देउवाले हरेक निर्णायक घडीमा गठबन्धनसँगका बैठक र अरु सघन छलफलमा गगनलाई छुटाएका छैनन् ।
एमालेलाई एक्लो बनाउन सत्ता गठबन्धन दलबीच सिट भागबण्डाको छलफल चलिरहेको छ । यस छलफलमा गगन थापा पनि अनवरत रुपमा सक्रिय सहभागी छन् । संस्थापनले आफ्नो सुविधाअनुसार सिट वितरण गरेको र आफ्नो खेमालाई छानीछानी पाखा लगाएको ठान्ने शेखर समूहका अन्य नेतामा जति असन्तोष र आक्रोश छ, त्यो गगनमा छैन । किनभने उनी ढुक्क छन् कि यसपालि देउवाले राज्ययन्त्र लगाएरै उनलाई जिताइदिनेछन् ।
खासमा चुनावलाई लिएर गगन यसपालि जति यसअघि कहिल्यै डराएका थिएनन् । किनभने उनले आफ्नो निर्वाचन क्षेत्रमा मुख देखाउने बाटो केही राखेका छैनन् । गफ मात्र ठूला गर्ने तर काम केही नगर्ने भनेर काठमाडौँ–४ का मतदाता गगनप्रति आक्रोशित छन् । खासगरी पन क्षेत्रबाट उनलाई बहिष्कार नै गर्नुपर्ने भनेर भित्रभित्रै स्थानीय बासिन्दा जुटिरहेका छन् । मतदाताप्रति विश्वास नभएपछि उनी राज्यशक्तिको प्रयोगबाट चुनाव जित्ने ध्याउन्नमा लागेका हुन् ।
गगन यसपालि चुनाव जित्न जुन फन्डा अघि सार्दै छन्, ती सबै उनका लागि प्रत्युत्पादक हुँदै छन् । कपनबासीका निम्ति काम गरिरहेको देखाउन उनले उपत्यका विकास प्राधिकरणका कर्मचारीसँग फोटो खिचाएर फेसबुकमा पोस्ट गरेपछि उनले एकोहोरो गाली मात्र खाए । अनि आफूप्रति सहानुभूति बढ्छ कि भनेर उनले आफूले गाली खाएको गुनासो पनि गरे । त्यसले सहानुभूति बढ्नुको साटो झन् आक्रोश बढायो । अहिले उनी डेँगी उपचारका नाममा स्वास्थ्य टोली लिएर आउँछु भनेर चुनावको मुखमा भिडियो सन्देश सार्वजनिक गर्दानगर्दै आक्रमणको तारो बनेका छन् । यही भिडियो उनका लागि निल्नु न ओकल्नु भएको छ । समाजका एकदमै जिम्मेवार, प्रतिष्ठित र उनका शुभचिन्तकहरूले समेत चुनावलक्षित सस्तो प्रचारबाजीमा उत्रिएर गगनले आफ्नो हैसियत प्रदर्शन गरेको भनेर टिप्पणी गरेका छन् । वयोवृद्ध नागरिक अगुवा देवेन्द्रराज पाण्डेले त गगनमाथि कटाक्ष गर्दै भनेका छन्– यस्ता कार्यक्रमले त सधैँ चुनावै आइरहोस् जस्तो लागेको छ ।
समानुपातिकको बन्दसूचीमा आफ्नो खेमाका १० प्रतिशत नेताको नाम पनि समावेश नभएको गुनासो गर्ने शेखर समूहले असोज १६ गतेभित्र बन्द सूची सच्याउन अल्टिमेटम दिएको छ । तर गगन भने भित्रभित्रै समानुपातिकको बन्दसूचीमा गदगद छन् र यो सच्याउनुहुन्न भनेर लागिपरेका छन् ।प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्न निर्वाचन आयोगले असोज २३ गतेको मिति तोकेको छ । एक सय ६५ मध्ये गठबन्धनबीच भागबन्डा गर्दा कांग्रेसले करिब ८५ सिट पाउने आकलन छ ।
सभापति देउवाले संसदीय दलमा आफ्नो गुट र सरकारमा नेपाली कांग्रेसको बहुमत निश्चित हुने गरी सिट भागबण्डा गर्न खोजेका छन् । त्यसमा गगनले पनि साथ दिएका छन् । केही दिनअघिसम्म आफू प्रधानमन्त्रीमा दाबी गर्दै हिँडेका गगनका लागि काठमाडौँ–४ को उम्मेदवार दाबी गर्नै महाभारत हुने देखिएपछि उनले सत्ताको आड लिने नीति लिएका छन् । यसका लागि बरु उनी शेखरलगायत आफ्नै खेमाका प्रभावशाली नेतालाई बलि चढाएर भए पनि अहिले सांसद पद जितिहाल्ने र चुनावपछिको सरकारमा देउवाकै कृपाबाट मन्त्री पद निश्चित गर्ने बाटोमा हिँडेको प्रस्ट देखिन्छ । गगनको यो दोहोरो चरित्रले उनलाई कति फाइदा गर्छ त्यसका लागि भने चुनावको नतिजासम्मै पर्खनु नपर्ने हुन सक्छ ।



















