काठमाडौं,२१असोज । जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्रीको पद धरापमा पर्ने भएको छ । सत्ता गठबन्धन छाडेर प्रतिपक्षी एमालेसँग जसपाले चुनावी तालमेल गरेपछि चार मन्त्रीको पद धरापमा पर्ने देखिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री माेहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादवको जिम्मेवारी खोस्ने भएका छन् ।

एक मन्त्रीले भने, ‘जसपा विपक्षी दलसँग चुनावी गठबन्धन गरेपनि यसका चार जना मन्त्रीको जिम्मेवारी खोसिन्छ होला ।’ ०७४ मा पनि तत्कालीन सत्ता सहयात्री दल नेकपा माओवादीले विपक्षी एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए । अहिले पनि सोही परिस्थिति आएको ती मन्त्रीको भनाइ छ ।

निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना भने छैन । निर्वाचन आयोगका सह-प्रवक्ता सूर्य प्रसाद अर्यालले निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने नमिल्ने बताए ।

त्यस्तै, जनता समाजवादी पार्टी(जसपा)का कार्यकारिणी सदस्य रकम चेम्जोङले सत्ता गठबन्धन र एमालेमध्ये जसले धेरै सिट दिन्छ उसैसँग तालमेल गर्ने बताएका छन्।

जसपा कार्यकारिणी सदस्य चेम्जोङले एमाले र लोसपा दुवैसँग निर्वाचन क्षेत्र तालमेलका लागि छलफल भइरहेको बताए।

‘हामीले लोसपा र एमालेसँग कुरा गरिरहेका छौं। एमालेसँगको छलफल सकारात्मक छ। केही मिल्न बाँकी छ,’ उनले भने, ‘हामी आज पनि बस्छौं। सत्ता गठबन्धनमा रहेका दलहरूले अफर गर्छु भन्नुभएको छ। गठबन्धनले हामीले मागे अनुसार दियो भने उतै जान्छौं।’

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलमा सदस्य समेत रहेका चेम्जोङले अहिले दिने भनिएको सिटमा ६ सिट थप्नुपर्ने बताए। जसपाले आफूहरूलाई १८ देखि २० सिटसम्म चाहिने माग गरेको छ।

  • एमालेसँग धेरै विषयमा छलफल भएपनि केही मिल्न बाँकी रहेको उनले बताए।‘तालमेल गर्ने कुरा हो। तालमेल भनेको गठबन्धन होइन। हामी सिट तालमेलमा छौं। जहाँ हामीलाई बढी फाइदा हुन्छ उसैसँग तालमेल गर्ने हो,’ उनले भने, ‘मुख्य कुरा संख्या हो। त्यसमा अप्ठ्यारो मान्नुपर्ने कुरै छैन। जसले सिट धेरै दिन्छ उसैसँग गर्ने हो। जोसँग तालमेल गर्दा लाभ हुन्छ उसैसँग गर्ने हो।’