केराबारी,२३ असोज । टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एमाले प्रदेश १ समितिका सचिवालय सदस्य डिल्लीराम अधिकारीले पनि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
एमालेको स्थानीय समितिले मोरङ क्षेत्र नम्बर १ (ख)बाट अधिकारीलाई प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गरेको थियो । यद्यपि उक्त सिफारिस अनुसार नभई एमालेले सो क्षेत्रबाट खड्ग बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अधिकारीले पार्टीका केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण टिकट पूर्वाग्रही ढङ्गले वितरण गरिएको प्रति घोर आपत्ति र असहमति जाहेर गर्दै राजीनामा दिएका हुन् ।
उनले टिकट वितरण पक्षपातपूर्ण, प्रलोभन र गुटगत राजनीतिबाट अघि बढेको भन्दै आजकै मितिबाट पार्टीको प्रदेश समिति सचिवालय सदस्यबाट राजीनामा दिएको उल्लेख गरेका छन् । ‘सम्पूर्ण जीवन पार्टीको नीति, विधि र पद्धतिमा रही आएकोमा गुटगत र व्यक्तिवाद राजनीतिको कारण आफ्नो स्वाभिमानलाई बन्धक बनाई पार्टीमा रही जिम्मेवारी बहन गर्न नसक्ने ठहर गर्दै यति लामो पार्टी जीवन यात्रा गह्रुँगो छाती बनाई पार्टी जिम्मेवारीबाट अलग हुने र स्वतन्त्र जीवन जिउने निर्णय गर्दै राजीनामा पेस गर्दछु,’ अधिकारीले एमाले प्रदेश अध्यक्षलाई दिएको राजीनामा पत्रमा उल्लेख छ ।
यसैविच केराबारी गाउँपालिका वडा नंम्बर २ निवासी अधिकारीलाई पार्टीले टिकट नदिएपछि सोही वडाका १९ जना वडा सदस्यहरुले समेत पार्टीको संगठनबाट राजिनामा दिएका छन् ।
पुराना त्यागि नेताको रुपमा चिनिएका अधिकारीको पार्टी परित्यागले गर्दा एमालेलाई पुरै १ नम्बर क्षेत्रमा धक्का लाग्ने देखिन्छ भने पार्टीले उम्मेदवार बनाएका खड्ग बस्नेतलाई आफ्नै पार्टीका कार्यकर्ताले पनि त्यती मननपराउने देखिएको छ !



















