काठमाडाैं,२४ असोज  । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रत्यक्षतर्फ प्रमुख दलले नै निकै कम संख्यामा महिला उम्मेदवार उठाएका छन् ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउन निर्देशन दिएपनि दलहरुले त्यसलाई बेवास्ता गर्दै न्यून संख्यामा महिला उम्मेदवार बनाएका हुन् ।

सबैभन्दा धेरै महिला उम्मेदवार उठाउनेमा नेकपा एमाले अगाडि छ । एमालेले प्रतिनिधि सभामा ११ जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएकाे छ । एमालेले सुनसरी निर्वाचन क्षेत्र नम्बर-३ बाट भगवती चाैधरी र उदयपुर क्षेत्र नम्बर-१ बाट मञ्जु चौधरीलाई उम्मेदवार बनाएकाे छ । एमालेले बारा क्षेत्र नम्बर-३ बाट ज्वाला शाह र धनुषा-३ बाट जुली कुमारी महतोलाई टिकट दिएकाे छ ।

एमालेले स्याङ्जा क्षेत्र नम्बर-२ बाट पद्‍मा कुमारी अर्याल,  कास्की-२ बाट विद्या भट्टराई र बाग्लुङ-२ बाट मञ्जु शर्मा चालिसेलाई उम्मेदवार बनाएकाे छ । एमालेले दाङ क्षेत्र नम्बर-१ बाट शान्ता चौधरी र दाङ-३ बाट कोमल वलीलाई उठाएकाे छ । एमालेले डोटीबाट गौरी ओली र कञ्चनपुर क्षेत्र नम्बर-३ बाट निरु पाललाई टिकट दिएकाे छ । प्रदेश सभातर्फ पनि एमालेले महिला उम्मेदवारलाई प्राथमिकता दिएकाे छ ।

नेपाली कांग्रेसले ५ जना महिलालाई टिकट दिएकाे छ । कांग्रेसले तेह्रथुममा सीता गुरुङ र मोरङ क्षेत्र नम्बर-२ मा सुजाता कोइरालालाई उम्मेदवार बनाएको छ । कांग्रेसले सिरहा क्षेत्र नम्बर-२ मा चित्रलेखा यादवलाई उठाएकाे छ । कांग्रेसले मकवानपुर क्षेत्र नम्बर-१ मा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र अर्घाखाँचीबाट पुष्पा भुसाललाई टिकट दिएकाे छ ।

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबाट ६ जना महिलालाई प्रत्यक्षतर्फकाे टिकट दिइएकाे छ । माओवादीले ललितपुर क्षेत्र नम्बर-३ मा पम्फा भुसाल, काठमाडाैं क्षेत्र नम्बर-२ मा ओनसरी घर्ती, काठमाडाैं-७ मा मानुषी यमी भट्टराई, काठमाडाैं-९ मा कल्पना धमलालाई उम्मेदवार बनाएकाे छ । नेपाल समाजवादी पार्टीकी मानुषीले माओवादीकाे चुनाव चिन्हबाट चुनाव लड्न लाग्नुभएकाे हाे । माओवादी दाङ क्षेत्र नम्बर-३ मा रेखा शर्मा, जुम्लामा गोमा गौतम र कञ्चनपुर-३ मा विना मगरलाई उम्मेदवार बनाएकाे छ ।

नेकपा एकीकृत समाजवादीले गुल्मी क्षेत्र नम्बर-२ मा रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मोरङ-३ बाट रेखा थापालाई उठाएकाे छ । राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई प्युठानबाट उठाएकाे छ । मधेसवादी दलले पनि निक्कै कम संख्यामा महिला उम्मेदवार उठाएका छन् ।

सत्ता गठबन्धनमा भाँडभैलो, यी निर्वाचन क्षेत्रमा खडा भए बागी उम्मेद्वार (सूचीसहित)

https://onlinesagarmatha.com/news/7884