रौतहट,२८ असोज  । गठबन्धनबाट रौतहट क्षेत्रनं ३ बाट संघीय सांसदको उम्मेदवार धिरज पटेलले आफुले प्रभु साहलाई नसघाउने बटमलाइन सुनाउनु भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वाहिद अन्सारीले आफ्नो फेसबुक वालमा गठबन्धनले प्रभु साहलाई सघाउने र माओवादी केन्द्रबाट उम्मेदवार बनेका पटेललाई उम्मेदवारी फिर्ता लिन लगाउने कुरा सार्वजनिक गरेलगत्तै पटेलले यस्तो घोषणा गर्नुभएको हो ।

समाजिक संजालमा यो बिषय आउना साथ सत्ता गठबन्धनका उम्मेदवार पटेलले आफ्नो उम्मेदवारी कायम रहेको जनाउनु भएको छ ।पटेलले संचारकर्मीसंग प्रतिक्रिया दिदै काशी तिवारी ,सुनिल यादव ,उपेन्द्र दास बैरागी हत्यामा आरोपित प्रभु साहलाई आफुले समर्थन गर्न नसक्ने बताउनु भयो ।

गठबन्धनका उम्मेदवार रहेका पटेलले पार्टीका केही नेता प्रभु साहको रकमी चलखेलमा लागेर आफुलाई सक्ने अभियान थालेको गुनासो पनि गर्नुभएको छ । रौतहटका माओवादीका केही नेता रकमी चलखेलमा लागेर मेरो उम्मेदवारी फिर्ता लिएको हल्ला फिजाउन लागेकाले त्यस्ता कुराको पछि नलाग्न पटेलले आग्रह गर्नुभयो।

आफू सत्ता गठबन्धनका तर्फबाट आधिकारी उम्मेदवार रहेको र कसैको भ्रममा नपरी मतदाता गर्न पटेलले आग्रह गर्नुभयो । ‘म ईमान्दार मान्छे र ईमान्दार पार्टीको सिपाही भएका कारण हत्यारालाई कुनैपनि हालतमा मेरो समर्थन रहदैन,’ पटेलले भन्नुभयो ।