काठमाडौं,३० असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउन आफ्ना पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको तथ्य उजागर भएको छ ।
केन्द्रमा देउवा नेतृत्वकै सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा देउवाविरुद्ध उम्मेदवारी दिएका कर्ण मल्लाई सघाउने निर्णय गरेपछि यो तथ्य उजागर भएको हो ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेश सभामा आकांक्षी डा.तारा जोशीले गठबन्धनमा सिट नपाएपछि प्रधानमन्त्री देउवाविरुद्ध उम्मेदवारी दर्ता गरेका विपी कांग्रेसका मल्लाई सघाउने गरी सम्झौता पत्रका हस्ताक्षर भइसकेको छ ।
अघिल्लो पटक प्रदेश सभामा नेपाली कांग्रेसबाट निर्वाचित कर्ण मल्ल अहिले प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाविरुद्ध खडा हुनुभएको छ भने अघिल्लो पटक मल्लसँग झिनो मतान्तरले पराजित जोशी अहिले मल्ललाई जिताउन कस्सिनु भएको छ ।
कांग्रेस जिल्ला सभापतिसमेत रहनुभएका मल्ल प्रदेश सभामा विजयी हुँदा एमाले जिल्ला अध्यक्ष जोशी ३५६ मतले पराजित हुनुभएको थियो । अहिले दुबै जनाले एक अर्कालाई जिताउने गरी चुनावी तालमेल गर्नुभएको छ । सो तालमेललाई नेकपा एसका अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालसहितका सवै पदाधिकारीको सहमति रहेको छ ।
यसअघि एमालेले प्रतिनिधि सभामा विपी कांग्रेसलाई सघाउने बताएको थियो । तर, प्रदेश सभामा बिपी कांग्रेसले नेकपा एकीकृत समााजवादीलाई सघाउने बारे छलफल सुरु गरेपछि एमालेले तालमेल नरहेको प्रष्ट पारेको छ ।
डडेलधुरामा एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार छैनन । प्रतिनिधि सभामा पार्टीबाट चक्र स्नेहीको उम्मेदवारी दर्ता गरिएको भएपनि विपी कांग्रेससँग तालेमल गर्ने भन्दै फिर्ता गरिएको थियो । यता प्रदेश सभामा एमालेबाट पठानसिंह बोहरा र गजेन्द्र शाही उम्मेदवार हुनुहुन्छ भने गठबन्धनबाट कांग्रेसका गोबिन्द बोहरा र माओवादी केन्द्रका खगराज भट्ट उम्मेदवार हुनुहुन्छ ।
कांग्रेसका बोहरा र एमालेका शाहीको क्षेत्रमा नेकपा एकीकृत समाजवादीका जोशीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सोही क्षेत्रमा नेकपा एसले विपी कांग्रेससँग तालमेल गरेका छन । माधव नेपालसँगको सहमतिमै यस्तो संझौता भएको नेकपा एस डडेलधुराले बताएको छ ।



















