फिक्कल,४ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम लोकतान्त्रिक गठबन्धनलाई एउटा दल जस्तै ठान्नुपर्ने बताएका छन्।
इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका खनालले संविधानको रक्षा र अग्रगमनका लागि पाँच दलीय गठबन्धन चुनावी मैदानमा एउटा दलजस्तै भएर आएको बताए।
चुनावी अभियानमा गाउँ जानुअघि इलामको फिक्कलमा पत्रकार सम्मेलन गर्दै खनालले भने, ‘हाम्रा फरक विचार होलान् तर यतिबेला हाम्रो लडाइँ संविधानविरोधी शक्तिविरुद्ध हो, त्यसैले हामी एउटै पार्टी जस्तो भएका छौँ।’
देशमा भएका विभिन्न आन्दोलन र परिवर्तनमा कम्युनिष्ट र कांग्रेसबीच सहकार्य र प्रतिस्पर्धा हुने गरेको बताउँदै उनले यो स्वाभाविक भएको उल्लेख गरे।
गठबन्धन रहरले बनेको होइन, देशको आवश्यकता हो -शिक्षामन्त्री पौडेल । काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गठबन्धन रहरले नभइ देशको आवश्यकताले बनेको बताएका छन्।
ताराखोला गाउँपालिकामा बिहीबार चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले संविधानका उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको धारणा राखे।
‘संविधान र लोकतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य भएको हो,’ मन्त्री पौडेलले भने, ‘प्राप्त उपलब्धि जोगाउने र थप हकअधिकारको सुनिश्चितताका लागि सङ्घर्ष गर्दै जानुपर्ने दायित्व हाम्रासामु छ।’
सत्ता गठबन्धनबाट बागलुङ–२ बाट उम्मेदवार बनेका मन्त्री पौडेलले समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्वसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ र संस्थागत गर्न आवश्यक रहेको बताए। जनताद्वारा निर्वाचित प्रतिनिधिले नै विगतमा दुई/दुई पटक संसद् भङ्ग गरेको दृष्टान्त सुनाउँदै उनले त्यस्तो प्रवृत्तिले देशलाई अहित गर्ने बताए।
मन्त्री पौडेलले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा बागलुङका सबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले जित्ने दाबी गरे।
‘जिल्लाका सबै स्थानीय तहमा गठबन्धनको जनमत बढी छ, विगतको चुनावी परिणाममा पनि हामी अगाडि छौँ, यहाँ अरु कसैले जित्ने सम्भावना छैन,’ उनले भने।



















